तस्करीका कारण पाकिस्तानी अर्थतन्त्रलाई १२ अर्ब डलर घाटा

काठमाडौं– पाकिस्तानमा अवैध तस्करी बढ्दै गएको पाइएको छ । अवैध तस्करीका कारण पाकिस्तानी अर्थतन्त्रमा ठूलो असर परिरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
बजार अर्थतन्त्रका लागि नीति अनुसन्धान प्रतिष्ठानले अवैध व्यापारविरुद्ध बहुराष्ट्रिय साझेदारीसँगको सहकार्यमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा तस्करीका कारण पाकिस्तानले हरेक वर्ष १२ अर्ब १० करोड डलर गुमाउने गरेको उल्लेख छ । यो पाकिस्तानको कुल ग्राहस्थ उत्पादनको ३.५ प्रतिशत हो ।
यसबाट पाकिस्तानले प्राप्त गर्नुपर्ने राजश्वमा ठूलो धक्का लागिरहेको जनाइएको छ । तस्करीका अधिकांश घटना अफगानिस्तानसँगको व्यापारमा हुने गरेको इस्लामखबरले जनाएको छ ।
उक्त समाचार संस्थाका अनुसार अफगानिस्तान पारवहन व्यापार सुविधाको क्षेत्रमा ३ अर्ब ५६ करोड डलर बराबरको तस्करी हुने गरेको छ । भूपरिवेष्ठित मुलुक अफगानिस्तानका लागि पाकिस्तानले यस्तो पारवहन सुविधा प्रदान गरेको हो ।
अफगानिस्तानका लागि लगिने सामानका कन्टेनर बीच बाटोबाटै गायब हुने गरेको पाइएको छ । ती सामानको पाकिस्तानी बजार मै कारोबार हुने गरेको छ । यसबाट पाकिस्तानको ढुकुटीमा कुनै कर जाँदैन ।
यसबाहेक पाकिस्तानमा विदेशबाट पेट्रोल, सुर्तीजन्य वस्तु, औषधि पनि तस्करी हुने गरेको उक्त प्रतिवेदनमा जनाइएको छ ।