अमेरिकाले चीन र हङकङबाट पढ्न आउने विद्यार्थीहरूको भिसा जाँच गर्ने

काठमाडौं । अमेरिकाले चीन र हङकङबाट पढ्न आउने विद्यार्थीहरूको भिसा जाँच गर्ने भएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्ने व्यक्तिहरूको पहिचान गरिनेछ ।”
रुबियोले विज्ञप्तिमार्फत चीन र हङकङबाट भविष्यमा आउने भिसा आवेदकहरूको जाँचलाई अझ कडा बनाउन भिसा आवश्यकताहरू पनि परिमार्जन गरिने बताए ।
हालैका महिनाहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिका कारण चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बनेको छ।
यसअघि रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टहरू बन्द गर्न आदेश दिएका थिए । साथै, विदेश विभागले आवेदकहरूको सामाजिक सञ्जाल जाँचलाई तीव्र बनाउने तयारी गरिरहेको जनाएको छ ।
अनुमानअनुसार गत वर्ष लगभग २ लाख ८० हजारभन्दा बढी चिनियाँ विद्यार्थीहरू अमेरिकामा अध्ययन गरिरहेका थिए ।