कञ्चनपुरका वन प्रमुख ठाकुरमाथि मोसो दलेर दुर्व्यवहार

द एभरेष्ट पोष्ट
९ जेठ २०८२ २२:१३
कञ्चनपुरका वन प्रमुख ठाकुरमाथि मोसो दलेर दुर्व्यवहार

कञ्चनपुरका डिभिजन वन प्रमुख रामविचारी ठाकुरमाथि आज मोसो दलेर एक समूहले दुर्व्यवहार गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यालयको कार्यकक्षमै उहाँमाथि अपरिचित व्यक्तिको समूहले दुर्व्यवहार गरेको हो। ठाकुरमाथि मोसो दलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो भिडियो कम्युनिस्ट युवा सङ्गठन नेपाल नामक फेसबुक पेजमा राखिएको छ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। भिडियो दुर्व्यवहार गर्ने व्यक्तिहरूले नै खिचेको भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो,“भ्रष्टाचार कि के गरेको भनेको जस्तो भिडियोमा सुनिन्छ।”

उहाँले डिभिजन वन प्रमुख ठाकुरले तीन जना मान्छे आएको भने पनि प्रहरी जाहेरीमा चार जना मान्छे घटनामा संलग्न रहेको उल्लेख गर्नुभयो। संलग्न व्यक्तिहरू चाँडै पक्राउ पर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो।

भिडियो हालेको कम्युनिस्ट युवा सङ्गठन नेपालले ठाकुरलाई जनकारबाही गरेको आफ्नो पेजमा उल्लेख गरेको छ। त्यस्तो गर्नुको कारण भने खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस