स्विट्जरल्यान्डमा नेपाल-भारतबीच स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति

काठमाडौं । भारत र नेपालबीचको स्वास्थ्य साझेदारीलाई थप सुदृढ बनाउँदै दुवै देशका उच्च स्वास्थ्य अधिकारीबीच स्विट्जरल्यान्डको जेनेभामा महत्त्वपूर्ण द्विपक्षीय बैठक सम्पन्न भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै भनेको छ, ‘विश्व स्वास्थ्य सभाको अवसरमा भारत सरकारका स्वास्थ्य सचिव पुन्यसलीला श्रीवास्तव र नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबीच द्विपक्षीय बैठक सम्पन्न भयो । स्वास्थ्यसम्बन्धी सस्ता औषधि, सरुवा रोग, डिजिटल स्वास्थ्य तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि जस्ता विषयमा छलफल भएको हो ।’
यसैबीच, जेनेभामा सम्पन्न ७८औं विश्व स्वास्थ्य सभामा भारतले ‘ट्राकोमा’ रोगलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा उन्मूलन गरेको प्रमाणपत्र पनि प्राप्त गरेको छ ।
यस उपलब्धिमा भारतका केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले राष्ट्रका लागि गौरवको क्षण भएको प्रतिक्रिया दिएका छन् ।
उक्त सभालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँ दिल्लीबाट भर्चुअल सम्बोधन गरेका थिए ।