न्यूयोर्कको म्यानहटन बन्यो नेपालमय, डे परेडमा नेपालीहरुको अभूतपूर्व एकता

न्यूयोर्क, १९ मे ।
अमेरिकाको न्यूयोर्कमा आईतवार भव्य रुपमा नेपाल डे परेड २०२५ मनाईएको छ ।२०१६ देखि प्रत्येक वर्ष मे महिनामा मनाउदै आएको नेपाल डे परेड यस वर्ष मे १८ मा मनाईएको हो ।
गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघ संस्थाको सहकार्यमा नेपाल डे परेड मनाईएको हो ।
अमेरिकाको म्यानहटनमा जम्मा भएका नेपालीहरुले नेपालीको पहिचान र मौलिकता झल्किने पहिरन, बाजा र संस्कृति प्रदर्शन गरेका थिए । नेपालका सात वटै प्रदेशका बिभिन्न जाती, समुदाय, बर्गले आआफ्ना मौलिक संस्कृति र पहिचान झल्किने झाँकीसंगै सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेका थिए ।
हिमाली क्षेत्रमा बस्ने शेर्पादेखि पश्चिम तराईको राना थारु र चौधरी समुदायको पोशाक, बाजा, र झाँकीहरु प्रदर्शन गरिएका थिए ।
बिरलै रुपमा एक ठाउँमा हेर्न पाईने झाँकीहरु नेपाल डे परेडमा प्रदर्शन गरिएको थियो ।
पश्चिम नेपालको मौलिक डेउडा, गौरा, हुड्के प्रदर्शन गरिएको नेपाल डे परेडमा मध्य तराई र गण्डकीको पहाडी क्षेत्रमा बसोबास गर्न बिभिन्न जाती र समुदायका नाचगान र संस्कृतिहरु प्रदर्शन गरिएका थिए । पञ्चेवाजा र हड्के संगै पश्चिम नेपालको दाहिनादमाउले न्यूयोर्कको म्यानहटन गुञ्जिएिको थियो ।
एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष तथा नेपाल डे परेडका अध्यक्ष छिरिङ शेर्पाले अमेरिकामा नेपालीको पहिचान, संस्कृति, पराम्परा चिनाउने उद्देश्यले २०१६ देखि नेपाल डे परेड मनाउदै आएको बताए ।
उनले नेपाल डे परेडलाई अमेरिकामा रहेका नेपालीहरुले उत्सवका रुपमा मनाउने गरेको बताए ।
राष्ट्रिय झण्डा सहित नेपालीपन झल्किने भेषभुषा, संस्कृति र बाजाहरु सहित नेपाल डे परेडमा सहभागी नेपालीहरुले अमेरिकामा रहेपनि मन र मुटुमा नेपाल रहेको सन्देश दिएका थिए । बिभिन्न भेग भूगोल, जाती, समुदाय र बर्गको सामूहिक उपस्थितिले नेपालीहरुको देश प्रेम र एकता झल्किन्थ्यो ।
नेपाल डे परेडको उद्घाटन न्यूयोर्क सहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले उद्घाटन गरेका थिए ।
परेडको उद्घाटन गर्दै मेयर एडम्सले न्यूयोर्कमा नेपालीले आफ्नो संस्कृतिसँगै आफ्नो उपस्थितिलाई समेत दरिलो बनाएको बताए ।
नेपाली समुदायकी अगुवा मनिता गुरुङले संयोजन गरेको नेपाल डे परेड सम्पन्न बिभिन्न समिति र सल्लाहकार समिति गठन गरिएको थियो ।
एनआरएनए न्यूयोर्क च्याप्टरको आयोजना तथा एनआरएनए अमेरिकार र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको सहयोगमा आयोजना गरिएको नेपाल डे परेडमा न्यूयोर्कस्थित नेपाली समुदायका बिभिन्न संगठनहरुको सहभागिता र सहयोग रहेको थियो ।