गुरिल्ला मार्ग छोडेको डेढ दशकपछि मध्य पहाडी लोकमार्गमा निस्किए प्रचण्ड

धनगढी, ३ जेठ ।
१० वर्षे सशस्त्र विद्रोहका सुप्रिम कमाण्डर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) युद्धको त्यो समयमा हिडेको गुरिल्ला मार्ग छोडेर मध्य पहाडी लोकमार्गमा दौडाहामा निस्किएका छन् ।
३२ अंकको जादुको प्रभाव निस्क्रिय भएपछि सत्ताबाट बाहिरिएका प्रचण्ड सत्तामा पुनरागमनका लागि दौडाहामा निस्किएका हुन् । वृद्ध हुदै गएको काया र सेलाईसकेको क्रान्तिको त्यो रापलाई पुनर्जागित गर्दै प्रचण्ड बहुमत सहित फर्कने लालसा सहित मिसन ८४ मा मध्य पहाडी लोकमार्गमा निस्किएका हुन् । द्वन्द्वकालमा लडाकुको चौघेरामा रहेका प्रचण्ड मध्य पहाडी लोकमार्गको दौडाहा कार्यकर्ताहरुको घेरामा छन् । वर्षौपछि नजिकबाट आफ्ना कमाण्डरलाई यति नजिकबाट हेर्न पाएका माओवादीका सुदूरपश्चिमका नेता कार्यकर्ताहरुमा उनको उपस्थितिले उत्साह थपेको देखिन्छ ।
पहिलो चरणमा तराइ मधेशमा विशेष जागरण अभियान सम्पन गरेको माओवादीले दोस्रो चरणमा मध्यपहाडी लोकमार्ग केन्द्रित जन जागरण अभियान सञ्चालन गरेको हो ।
माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाबाट जेठ २ गते बैतडीको पाटनबाट दोस्रो चरणको अभियान शुरु गरेको हो । पाटनमा उद्घाटन जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम पछि अछाममा कार्यक्रम राखिएको माओवादी केन्द्रले जनाएको छ ।
जेठ ३ गते बिहान चौरपाटीको चौखुट्टे बजारको प्रवेस द्वारमा माओवादी केन्द्र अछामले स्वागत गरिने कार्यक्रम छ । सोही दिन अछामको साँफेबगरमा दिउँसो बृहत जनसभा, साँझ मंगलसेनमा जनसंवाद, राती पञ्चदेवल बिनायक नगरपालिकाको बिनायकमा बसोवासको कार्यक्रम तय भएको माओवादी केन्द्र अछामले जनाएको छ ।
मध्य पहाडी लोकमार्ग सञ्चालन गरिएको जागरण अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एंवम पूर्व सभामुख अग्नि साप्कोटा,उपाध्यक्ष एंवम पुर्व मन्त्री पम्फा भुषाल, उपाध्यक्ष एंवम पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ, महासचिव (पुर्व मन्त्री) देव गुरुङ, उपमहासचिव (पुर्व मन्त्री) एंवम सुदुरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेल लगायतका केन्द्र, प्रदेश र जिल्ला स्तरका शिर्ष नेताहरुहरुले साथ दिएका छन् ।
जागरण अभियान ४ गते बिहान दैलेखको सदरमुकाम दुल्लुमा सम्पन्न हुने बताईएको छ ।