धनगढी : बिबिधतामा हुर्किएको सुदूरको ‘गेट वे’

धर्मेन्द्र बिह्वल
हामी पलियाकलाँ आइपुग्दा दिउँसोको करिव एक बजिरहेको थियो । हामी रेलबाट ओर्लेर स्टेशनबाहिर निस्कदा मनमा प्रश्न उव्जियो, यो कुन नयाँ ठाउँमा आइपुगियो ? केटाकेटीकै उमेर न हो । स्टेशनबाहिर आउँदा भोक लागेको भन्ने मेरो जानकारीका आधारमा पिताजीले एउटा सामान्य होटेलमा लिएर जानुभयो । खाना खाइयो र अब अगाडीको यात्राका लागि तयार हुनु थियो, भइयो । पिताजीका अनुसार अबको गन्तव्य गौरीफन्टा र त्यसपछि धनगढी । जंगलको बीचबाट गौरीफन्टासम्म एउटा सामान्य बसमा यात्रा गरियो भने गौरीफन्टाबाट मोहना नदी पार गर्दै रिक्साबाट धनगढी टेकिएको थियो । अहिले मोहना नदी छेउ नेपाली भूमिमा सानो वजार, जो डोके वजारका नामले चिनिन्छ, अवस्थित छ । वास्तवमा यहीँबाट पुनर्वास वस्ती सुरु हुन्छ । अलिकति पश्चिम कञ्चनपुर जिल्लामा पुगेपछि यो वस्ती अझै बाक्लिन्छ र एउटा नगरपालिकाको परिस्कृत स्वरुप ग्रहण गर्दछ । तर जुनबेला पहिलोपटक मैले यो भूगोल टेकेको थिएँ, त्यसवेलासम्म यो घना जंगल नै थियो र वस्ती वस्न प्रारम्भ भइसकेको थिएन ।
भर्खर प्रवेशिका (एसएलसी) परीक्षा दिएर बसेको १६ वर्षे किशोर । म मेरा पिताजीसँग मेरो घर जनकपुरबाट निकै टाढा पलियाकलाँ हुँदै धनगढीसम्म आइपुगेका थिएँ । सबै कुरा नौलो लागीरहेको थियो । यस क्षेत्रका लागि म त नयाँ थिए नै मेरा पिताजी पनि सुदूरपश्चिमको तराईको यो भूगोलबाट त्यति खासै परिचित हुनुहुन्न थियो भन्ने मेरो अहिलेको बुझाई हो । म त यतिमात्र ठानिरहेको थिएँ–म त पिताजीसँग छु र पिताजीलाई सबै कुरा थाहा हुन्छ । मेरा पिताजी यो विश्वकै सबैभन्दा जान्ने बुझ्ने व्यक्ति । पिताजी सँगै भएपछि सबै समस्याको समाधान सहजै भइहाल्छ नि ।
त्यसवेला हाम्रालागि नितान्त नयाँ यात्रामा पिताजीले कति समस्या वेहोर्नुपरेको थियो होला भन्ने कुराको अनुमान म आज ४१ वर्षपछि गरिरहेको छु । पक्कै सहज थिएन होला त्यो समय । मैले उल्लेख गरिहालेँ सन्दर्भ ४१ वर्ष पहिलेको हो, जब मैले पहिलोपटक धनगढीको भूगोल टेकेको हुँ ।
नेपालको पश्चिमी भूगोलको ‘गेट वे’
धनगढी–सुदूरपश्चिमको हालको राजधानी शहर । यस शहरको नामकरणका बारेमा अनेकौं किंवदन्ती प्रचलित छन । कतिले धन गाडिएको ठाउँ भन्छन भने कतिले धानको उत्पादन बढी हुने ठाउँका रुपमा पनि चिनाउने गरेका छन । थारु जातिको बाक्लो उपस्थिति रहेको कैलालीको सदरमुकाम धनगढीमा भने उत्तर पहाडबाट वसाई सरेर आएकाको संख्या उल्लेख्य छ । यस शहरको रवाफ त्यसबेला पनि राम्रै रहेको म सम्झन्छु । नेपालको पश्चिमी भूगोलको ‘गेट वे’ नगरका रुपमा धनगढी त्यसवेला पनि स्थापित थियो । त्यसको यो प्रभावमा आज पनि कुनै कमी आएको छैन भन्ने मेरो बुझाई हो । हो, हिजोभन्दा आज क्रमशः यो शहर सुगम भने बन्दै गएको छ । पहिले कर्णाली र राप्ती नदी पारी अर्थात पूर्वका हामीजस्ता व्यक्तिका लागि यहाँ आउनु सहज थिएन । जनकपुर घर भएका हामीजस्ताले भारतको लामो बाटो हुँदै यहाँ आउनुपर्ने बाध्यता थियो । यस अर्थमा त यो विकट नै थियो नि । हामी पनि त्यस्तै बाध्यता तह लगाउँदै यहाँसम्म आइपुगेका थियौं । अहिले अवस्थामा निकै परिवर्तन आएको छ । आज यस शहरबाट नेपालको कुनै पनि स्थानका लागि सडकयात्रा गर्न सकिन्छ भने दस किलोमीटर उत्तरमा अवस्थित अतरियाबाट सुदूरपश्चिमका सबै पहाडी जिल्ला सडक सञ्जालमा जोडिन्छ । छेवैको भारतीय नगर पलियाकलाँ र वनवासाबाट भारतको जुनसुकै ठाउँका लागि सडक र रेलबाट यात्रा गर्न सकिन्छ । यो निश्चित हो, असहजबाट सहज बन्दै गएको आधुनिक धनगढीको निर्माण एक दिनमै भएको भने होइन ।
विद्यमान विकटतालाई छिचोल्दै, समस्याहरु पार लगाउँदै हामी त्यसवेला धनगढी आइपुगेका थियौं । मैले धनगढी पहिलोपटक टेकेको तिथिमिति त यकिन छैन तर किशोरावस्थाको त्यो समय वर्तमानमा स्मरण गर्दा यति सम्झन्छु, झण्डै चार दिनको यात्रा तय गरेर धनगढी टेक्दा म निकै थकित थिएँ । पानी प्यास लागेको थियो । मैले पिताजीलाई पानीको आग्रह गर्दा उहाँले अलि कडा स्वरमा एकछिन पख्न भनेको स्मरण मेरो मानसपटलमा अझै ताजै छ । यहाँ पुग्दा झमक्क साँझ परिसकेको थियो । घडीमा कति वजेको थियो, त्यो त थाहा भएन ।
म एसएलसी दिएर बसेको थिएँ । अन्य कुनै दवाव थिएन । पिताजीको सरुवा कञ्चनपुरको महेन्द्रनगर (अहिलेको भीमदत्त नगर)स्थित घरेलु कार्यालयको प्रमुखका रुपमा भएको थियो । उहाँ त्यहाँ जानुपर्ने थियो । उहाँले धेरैजनासँग सल्लाह गरेर धनगढी हुँदै महेन्द्रनगर जाने बाटो रोज्नु भएको थियो । मैले पनि सँगै जाने ढिपी गरेको थिएँ । जसमा म सफल भएको थिएँ । यो ढिपी प्रमाण हो, मलाई घुमघाममा त्यसै वेलादेखि रुची थियो । हामीले जनकपुरबाटै रेलको यात्रा प्रारम्भ गर्यौ । भारत विहारको जयनगरसम्म नेपाली रेलबाट आइपुगेका हामीले यहाँबाट भारतीय रेलबाट मधुवनी, दरभंगा, पटना, गोण्डा र पलियाकलाँसम्मको यात्रा तय गरेका थियौं । यसक्रममा अनेक स्टेशनमा रेलबाट ओर्लने र रेल चढने हाम्रो दैनिकी नै बनेको थियो । कतिपय ठाउँमा स्टेशनकै प्लेटफर्मलाई आवास बनाएको र त्यतै कतै पेटलाई सन्तुष्टि प्रदान गर्ने प्रयास गरेको स्मृति मेरा लागि निकै महत्वपूर्ण छ । यात्राका सँगैका सहयात्रीको प्रभाव, रेल्वेका कर्मचारीको सहयोग र असहयोग, बाटामा उत्पन्न समस्या र तिनको समाधानको प्रक्रियालाई यतिखेर सम्झँदा मलाई लाग्छ मेरा जीवनका लागि ती अत्यन्त महत्वपूर्ण सिकाई थिए र हुन ।
धनगढीसँगको निरन्तर सम्पर्क
हामी धनगढी आइपुग्दा साँझ परिसकेको थियो । महेन्द्रनगर त भोलि जाने हो तर आज बस्ने कहाँ ? समस्या थियो । त्यसवेला कैलाली जिल्लाको सदरमुकाम पश्चिमको नेपालको मुख्य व्यापारिक नगर धनगढीमा आजको जस्तो विकसित सडक वजार, होटेल आदि थिएनन् । पिताजीका अनुसार आजको रात यहाँको घरेलु कार्यालयमा विताउनुपर्ने थियो तर त्यस कार्यालयका बारेमा कुनै जानकारी उपलब्ध थिएन । कहाँ छ ? कुन ठाउँमा छ ? थाहा छैन । आजको जस्तो फोन प्रणाली नभएको युगमा, जब इच्छयाएको नम्बर पाउन एक्सचेन्जको सहयोग आवश्यक पर्दथ्यो, सोधखोज गर्दै धुले बाटोहरु पछ्याउँदै गन्तव्यसम्म पुग्नुबाहेक कुनै विकल्प थिएन । पिताजीले त्यसै गर्नुभयो । हामी कसैगरी घरेलु कार्यालय पुग्यौ तर त्यहाँ कार्यालय प्रमुख थिएनन । हाम्रा सामु विकराल समस्या उत्पन्न भएको थियो । तर सायद एकजना सहायक स्तरका कर्मचारी भेटिए । उनले सहयोग गरे र हामीले कसै गरी त्यहाँ रात विताएको सम्झन्छु । भोलिपल्ट विहान सबेरै अगाडी मुख निस्केको ट्रकजस्तो एउटा वसमा हामी महेन्द्रनगरतर्फ प्रस्थान गरेका थियौं ।
आजको दिनमा म आफैसँग दावी गर्न सक्छु, धनगढीलाई म विगत ४१ वर्षदेखि जान्दछु । म निरन्तर यो शहरको सम्पर्कमा छु । पेशाले पत्रकार भएका कारणले पत्रकारिताको गतिविधिको त म साक्षी हूँ नै यस अवधीमा भएका यहाँका सामाजिक, राजनीतिक र भौतिक विकासको पनि कुनै न कुनैरुपले म प्रत्यक्षदर्शी हूँ । साक्षी हूँ । २०४० सालदेखि २०५२ सम्मको अवधिमा पिताजीको जागिरका कारणले एक÷दुईपटक म धनगढी गएँ हुँला, त्यो पनि सम्झने गरी होइन । त्यसपछि २०५३/५४ देखि निरन्तर रुपमा म यो शहरसँगको सम्पर्कमा छु । सबैभन्दा बढी पत्रकारिताका कारणले । हो, कैलाली र त्यसमा पनि धनगढीको भूमि पत्रकारिता कर्मका कारणले मेरा लागि निकै महत्वपूर्ण छ । २०५६ तिर म हिमालय टाइम्समा कार्यरत थिएँ । त्यसैताका मैले कमैयासम्बन्धी समाचारवृत्ति (फेलोसिप) प्राप्त गरेको थिएँ । त्यस सन्दर्भमा मैले कैलाली पनि गएर अध्ययन गर्नुपर्ने थियो । म गएँ र त्यसैवेला मैले धनगढीलगायत कैलालीका धेरै ठाउँ घुम्ने अवसर पाएको हूँ । चिसापानी, लम्की, टीकापुर, पहलमानपुर, जोशीपुर, मोहन्याल, बौनियाँ, जानकी, प्रतापपुरजस्ता ठाउँ मैले त्यसैवेला घुमेको हुँ । यो भ्रमणमा मलाई सहजीकरण गरी सहयोग गरिदिने मित्र टीकापुरमा भुवनेश्वर अधिकारी र धनगढीमा करुणाकर पाण्डेप्रति म आभार व्यक्त गर्न चाहन्छु । २०५६ पछि पनि मैले यी ठाउँहरुको पटकपटक भ्रमण गरेको छुँ, निकै परिवर्तनको अनुभूति सँगालेको छु ।
कैलालीको पत्रकारिता र पत्रकारको कुरा गर्दा मैले यहाँ सबैभन्दा पहिले चिनेको पत्रकार करुणाकर पाण्डे हुन । पाण्डे र मैले हिमालय टाइम्समा सँगै काम गरेका हौं । त्यसै सन्दभएमा शायद २०५३ देखि नै उनीसँग मेरो सम्बन्ध निरन्तर छ । पाण्डे र म नेपाल पत्रकार महासंघको केन्द्रीय समिति (२०५६–५९)मा सदस्यका रुपमा पनि सँगै कार्यरत थियौं । पाण्डेसँगका पत्रकारिताका मेरा अनेक अनुभव स्मृतिमा छन । पाण्डेपछि कैलालीका मेरा अर्का पुराना मित्र हुन मनमोहन स्वाँर, जो म नेपाल पत्रकार महासंघको अध्यक्ष हुँदा (२०६५–६८) सुदूरपश्चिम संयोजक (केन्द्रीय सदस्य)थिए । यी दुबैसँग एक किसिमले मेरो पारिवारिक सम्बन्ध पनि छ । यी दुबै मित्रको घरमै पनि मैले केही दिन विताएको छु । धनगढी आउने जाने सन्दर्भमा मैले अग्रज पत्रकारहरु घनबहादुर शाह, उमीद बागचन्द, टिएन जोशी, मोहन बुढा ऐर आदिलाई पनि चिनेको हुँ ।
सशस्त्र द्वन्द्वकालमा एक रातको साक्षी
धनगढी सम्झने कुरा गर्दैगर्दा २०६०/६१ को एउटा दिन (तिथि यकिन छैन)लाई मैले कहिले विर्सन सक्दिन । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका साथीको प्रतिनिधित्व हुने गरी कैलालीका पत्रकारहरुको संख्या अधिक रहेको समाचार लेखन र अन्तरवार्ता विषयक एक तालिमको आयोजना गरिएको थियो । नेपाल प्रेस इन्स्टिच्यूट (एनपिआएइ)ले आयोजना गरेको उक्त सातदिने तालिमको सहजकर्ताका रुपमा मसँगै गएका थिए नेपालगञ्जका अग्रज पत्रकार हेमन्त कर्माचार्य । हामी होटेल विद्यामा थियौं । सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । त्यस समयमा एक रात भएको भीडन्तको साक्षी हामी पनि बन्न पुगेका थियौं । धनगढी वजारमा निकैबेर गोली चलेको सुनियो । म र हेमन्त दाई होटेलको छतमा गयौ र गोली कहाँ चलेको हो भनेर ठम्याउन खोज्यौ । केही हदसम्म ठम्यायौ पनि । भोलिपल्ट तालिम सुरु हुनुअघि विहान वजार घुम्दा हामीले धनगढी वजारको स्वर काँपेको अनुभव गरेका थियौं । शहरी क्षेत्रमा दुईपक्षीय भीडन्तमा भएको गोलीवारीले स्थानीयको सुरक्षाका सम्बन्धमा एकैपटक थुप्रै प्रश्नको उठान भएको हाम्रो ठम्याई थियो । त्यसै तालिम सन्दर्भको बसाईपछि, पत्रकारहरु कर्ण शाह, दीर्घराज उपाध्याय, शिवराज भट्ट, भरत शाह, जगत साउद, हिक्मत रावल, हेमन्त पौडेल, गणेश चौधरी, टेकराज जोशी, वीरेन्द्र रावल, एकिन्द्र तिमिल्सेना, मीन वम, टेकेन्द्र देउवा, योगेन्द्र वलायर, भावना जोशी, करुणा जोशी आदिसँग मेरो सम्बन्ध झाँगिएको हो । यो सम्बन्ध अहिलेसम्म पनि निरन्तर छ भन्न पाउँदा मलाई गौरवबोध छ । पछिल्ला दिनमा त कैलाली कार्यक्षेत्र भएका प्रकाशविक्रम शाह, हिमाल जोशी, योगेश रावल, परमानन्द पाडे, श्रवण देउवा, दुर्गा देवकोटा, मीन ठकुरी, दीपेन्द्र भट्ट, टंक कुवँर, सीताराम ओझा, भोजराज जोशी, हरि जोशी, दीपक ओली, भीम चौधरी, सिद्धराज भट्ट, टीकाराम सुनार, भीष्मराज ओझा, देवानन्द न्यौपाने, डम्मर वम, नवराज खनाल, युवराज न्यौपाने, चन्द्र खनाल, तिलक ओझा, मुकेश टेर्रा, प्रेम चौधरी, दिनेश चौधरी, हरिश विक, प्रिन्स विके, लक्ष्मी जैशी घोडासैनी, सुनील आउजी, गगन ऐडी, शेरवहादुर ऐर शेरु, लोकबहादुर देउवा, जस्ता पत्रकार मित्रसँग पनि मेरो आत्मीय सम्बन्ध छ ।
पत्रकारिताका अनेक मुद्दा, दीर्घको नेतृत्व महत्वपूर्ण
पत्रकारिताका सन्दर्भमा धनगढीसँग सम्बन्ध जोडिएका अनेक स्मृति शेष छन । सबैको चर्चा गर्नु सम्भव छैन । तर केही विषय यस्ता छन जसको चर्चालाई अस्वीकार पनि गर्न सकिँदैन । यस्तो चर्चाको प्रयत्न गर्दा पत्रकार दीर्घराज उपाध्यायको नाम अत्यन्त टडकारो रुपमा अगाडी आउँदछ । म पत्रकार महासंघको केन्द्रीय अध्यक्ष हुँदै गर्दा उनी महासंघ कैलालीका अध्यक्ष थिए । त्यस कालखण्डमा उनको र मेरो अर्थात केन्द्र र जिल्लाबीच सफल समन्वय थियो । हो, केन्द्रीय सदस्यका रुपमा यसमा मनमोहनजीको महत्वपूर्ण भूमिकालाई अस्वीकार गर्न सकिँदैन ।
हामीले स्थानीय पत्रकार र व्यवसायीबीचको खस्कँदो सम्बन्ध सुधारको विषय होस वा पत्रकार लक्की चौधरीलाई सुरक्षित रुपमा काठमाडौमा स्थापित गर्ने कुरा होस हामीले महत्वपूर्ण सफलता प्राप्त गरेका थियौं । यतिमात्र होइन अतरियाका पत्रकार जेपी जोशीको हत्या प्रकरण मेरो पत्रकारिता क्यारियरकै एक महत्वपूर्ण घटना थियो । शायद यस्तै अनुभूति दीर्घको पनि हुनुपर्छ । यो घटनालाई लिएर नेपाल पत्रकार महासंघ देशव्यापीरुपमा आन्दोलित भयो र सरकार घटनाको छानविन गर्न एक उच्चस्तरीय आयोग गठन गर्न बाध्य भयो । त्यस कालखण्डमा कैलालीमा जति पनि घटना भए, सबैलाई सम्बोधन गर्न महासंघ सफल रह्यो । म स्थानीय नेतृत्वका नाताले वास्तवमै दीर्घको प्रशंसा गर्न चाहन्छु ।
सामाजिक सद्भावको शहर
मैले चिनेको धनगढीको अर्को रुप हो सामाजिक सद्भावको शहर । तराईमा शायद यति समाजिक विविधतायुक्त अर्को शहर छैन भन्दा अन्यथा हुदैन । हार्दिकता यो शहरको गहना हो । सबै भाषा, भाषी, जाती, धर्म र समुदायबीचको सौहाद्र्धता अन्य शहरका लागि पनि अनुकरणीय छ । त्यसो त केही वर्षअघि धनगढी र कैलालीले खण्ड–अखण्ड र थरुहट आन्दोलनको पीडा सँगाल्न बाध्य हुनुप¥यो । यिनलाई अपवाद मान्ने हो भने कैलालीको समाज आपसमा मिलेर बसेको समाज हो । धनगढीलाई त्यसको प्राकट्य रुपमा ग्रहण गर्न सकिन्छ । धनगढीमा सबैथरि जातजाती मिलेर बसेका छन । धनगढीले सबैलाई मान, सम्मान र स्थान प्रदान गरेको छ । यस शहरले सबैलाई आफूभित्र समेट्ने निरन्तर प्रयत्न गर्दै आएको छ÷गरेको छ । यहाँका आदिवासीका साथै पहाडबाट तल झरेका होउन कि तराई मधेशकाहरु पश्चिम सरेका होउन, धनगढीले सद्भावका साथ सबैलाई स्वीकार गरेको छ । वास्तवमा भन्ने हो भने आजका दिनमा यस शहरको शक्ति पनि यही सद्भावमा आधारित छ । यसको प्रभाव पनि यही हो ।
आधुनिक धनगढीको निर्माणमा सबैको योगदान छ । यसको निर्माणमा सुदूरपश्चिमका व्यक्तिको योगदान त महत्वपूर्ण छ नै, पूर्वी नेपालका नेपालीको भूमिका पनि कम महत्चवपूर्ण छैन । यहाँ सुदूरपश्चिमका पहाडका सात जिल्लाका साथै छेवैका बाँके, वर्दिया र पूर्वी मधेशका सिरहा, सप्तरी, सर्लाही, धनुषा र महोत्तरी जिल्लाका झा, मिश्र, ठाकुर, मण्डल, कर्ण, साह, शुक्ला थर भएका व्यक्तिहरुको ठूलो संख्यामा वसोवास छ र धनगढीको आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा यिनको योगदान महत्वपूर्ण छ । पूर्वी मधेशबाट आएर यहाँ वसोवास गरिरहेकामध्ये अधिकांशको पुर्वजको सम्बन्ध शिक्षण पेशासँग छ । सुदूरका पहाडी जिल्लामा शिक्षाको ज्योति फैलाउन आएकाहरु पछि धनगढीमा आएर वसोवास गर्न थाले र यो शहरले तिनलाई स्वीकार गर्दै आफूभित्र स्थान दिएर संरक्षित गर्यो । अहिले तिनैका सन्तानमध्ये अधिकांश यहाँ अनेकथरी व्यवसायमा संलग्न छन । धनगढी आउने जाने क्रममा वेलावखत सञ्जय चौधरी, प्रेमचन्द्र झा, रोहित मिश्र लगायतसँग पनि भेटघाट हुने गरेको म सम्झन्छु ।
यस आधारमा कहिलेकाहीँ लाग्छ, धनगढी आगन्तुकहरुको शहर हो र स्वाभाविकरुपले यहाँको राजनीति, आर्थिक क्षेत्रमा आगन्तुकको प्रभाव निर्णायक रहने गरेको छ । धनगढीले त तिनलाई अपनत्व प्रदान गरेको छ तर तिनले धनगढीसँग कति अपनत्वभाव विकसित गर्न सकेका छन ? प्रश्न विचारणीय छ ।
पछिल्लो समयमा धनगढी चर्चामा रहने गरेको थप केही कारण छन । पहिलो सुविधासम्पन्न विमानस्थल, दोस्रो गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान (जो निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन), तेस्रो सुदूरपश्चिमको अस्थायी राजधानी, चौथो सुदूरपश्चिमको प्रवेश द्धार (गेट वे) अत्तरिया र पाँचौ श्री वेहडा बाबाको नगर ।
सामान्यतया धनगढीमा मोहना किनारलाई अपवाद मान्ने हो भने यहाँ आउने पर्यटकका लागि घुम्ने गन्तव्यको नितान्त अभावबोध भइरहेको वर्तमानमा वेहडा बाबा स्थान चर्चामा आएको छ । यो एक प्रसिद्ध धार्मिक तथा आध्यात्मिक स्थल हो । यो स्थान सिद्ध बाबा वा तपस्वीको रूपमा पूजिन्छ । धनगढी नजिकैको वन क्षेत्रको आसपास अवस्थित यो स्थल पछिल्लो समयमा धार्मिक यात्राका लागि पनि प्रसिद्ध हुँदैछ । यहाँ मानिसहरू राम्रो स्वास्थ्य, सफलता, र संकटबाट मुक्ति पाउन आशीर्वाद माग्न जाने गर्दछन । हरियाली र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थान धार्मिकमात्र नभई मन शान्त पार्ने स्थलका रुपमा पनि चर्चित हुँदैछ ।
यति हुँदाहुँदै पनि धनगढीलाई पूर्ण मान्न सकिने अवस्था भने छैन । म जबजब यहाँ जान्छु, भगवान लक्ष्मीनारायण मन्दिर जाने प्रयत्न गर्छु र पाउँछु भगवान हिजो जहाँ थिए आज पनि त्यहीँ छन । उनको मन्दिरमा खासै परिवर्तन आउन सकेको छैन ।
–––