टेक्सास संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास, २ जेठ ।
अमेरिकाको टेक्सास राज्यको संसदले हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ रुपमा मनाउने संकल्प प्रस्ताव पारित गरेको छ टेक्सासको राज्य संसदबाट नेपाल डे र लुम्बिनी डे पछि पारित भएको यो तेस्रो सङ्कल्प प्रस्ताव हो ।
बिहीबार सम्पन्न टेक्सास राज्यको संसदको बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउने संकल्प प्रस्ताव पारित गरेको हो ।
राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गरेको १५ मे लाई ‘बुद्ध डे’का रुपमा मनाउनेसम्बन्धी प्रस्ताव संसदले सर्वसम्मतले पारित गरेको हो ।
बुद्ध जन्मभूमिलाई लिएर बेलोबलामा विवाद गर्ने गरिएकोमा अमेरिका टेक्सास राज्यको संसदले नै बुद्ध जन्मभूमि नेपाल भएको स्वीकार गर्दै बुद्ध डे मनाउने संकल्प प्रस्ताव गर्नुलाई टेक्ससका नेपालीभाषीहरुले महत्वपूर्ण उपलब्धीका रुपमा लिदै खुशी व्यक्त गरेका छन् ।
टेक्सासका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने राज्य सांसद (हाउस अफ रिप्रजेन्टेटिभ) डा सुलेमान ललानी, टेरी मेजा, सलमान भोजानी लगायतले ‘बुद्ध डे’सम्बन्धी संकल्प प्रस्ताव तयार गरी संसद्मा दर्ता गराएका थिए ।
उक्त अवसरमा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सास, नेपाली समाज टेक्सास, ग्रेटर अस्टिन नेपाली समाज, बुद्धिस्ट एशोसियसन अफ टेक्सास, तामाङ सोसाइटी अफ टेक्सासलगायत दर्जन बढी संस्था, नेपाल, भियतनाम, कोलम्बिया, म्यानमारलगायत विभिन्न देशका ६० भन्दाबढी बौद्ध भिक्षुहरुको उपस्थिति थियो ।
बुद्धको जन्मभूमिका विषयमा बिभिन्न भ्रमहरु फैलाउने कार्य भईरहेको बेला टेक्सासको राज्यसभा संसदले नै बुद्ध नेपालमा जन्मिएको कुरा स्वीकार गरेर बुद्ध डे मनाउने संकल्प प्रस्ताव पारित गर्नु गर्वको कुरा भएको नेपाली अगुवा प्रभात दीक्षितले बताए ।
टेक्सास राज्यसभाका सांसदहरुसंगको निरन्तर संवाद, छलफल र आग्रहपछि यो महत्वपूर्ण उपलब्धी हासिल भएको दीक्षितले बताए ।
यो निर्णयले लुम्बिनीको मात्र नभएर समग्र नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने दीक्षितले बताए ।
बुद्ध डे मनाउने सम्बन्धी संकल्प प्रस्ताव टेक्सासको राज्यसभा संसदबाट पारित हुनु नेपालीहरुका लागि गर्वको कुरा भएको एनआरएन अगुवा पदम ठकुराठीले बताए ।
टेक्सासको राज्यसभाले गौतम बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भएको स्वीकार गरी संकल्प प्रस्ताव पारित गरेको दिनलाई नेपालीहरुलाई विशेष रुपमा लिएको ग्रेटर अष्टिन नेपाली सोसाईटीका निवर्तमान अध्यक्ष भोजराज भट्टले बताए ।
ग्रेटर अस्टिन नेपाल सोसाईटीले हरेक वर्षको १५ मे लाई बुद्ध डेका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने जनाएको छ ।