गभर्नर प्रकरण : ‘बा’ हरुको स्वार्थमा ‘दाई’को प्रयोग

३ जेठ २०८२ १५:३६
गभर्नर प्रकरण : ‘बा’ हरुको स्वार्थमा ‘दाई’को प्रयोग

कानूनी समस्या देखाएर गभर्नरको दौडबाट डा. गुणाकर भट्टलाई आउट गर्न सफल भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली काँग्रेसले विश्व पौडेललाई गभर्नर बनाउने कोर्सलाई गति दिन सकेका छैन ।

गभर्नरको दौडमा पौडेल भित्रिएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले योग्यता र रोलक्रम अनुसार गभर्नर नियुक्ति गर्ने अभिव्यक्ति दिए । योग्यता र रोलक्रमको कुरा उनले त्यसै गरेका होईनन् । त्यसको अर्थ ओली अझै पनि निलम ढुंगानालाई बनाउन चाहन्छन् । ढुंगानालाई देखाएर ओलीले जसरी भट्टलाई गभर्नरको रिङ बाट आउट गरे । त्यसैगरी पौडेललाई पनि आउट गर्ने छन् । र, अन्तमा निलमलाई नै गभर्नर बनाउन देउवालाई सहमत गराउने छन् ।

प्रधानमन्त्री ओली झापाली हुन् । उनी झापाकै व्यक्तिलाई गभर्नर बनाउन चाहन्छन् । भन्नलाई उनी पहिलो महिला गभर्नर बनाउने भन्छन् । तर अभिष्ट झापालीलाई गभर्नर बनाउने हो । ओलीलाई त्यसैपनि एमालेका नेता कार्यकर्ताले बा भन्छन् । त्यसअर्थमा उनी निलमको पनि बा हुन् । होे, ओली पनि चेलीलाई गभर्नर बनाउन चाहन्छन । निलमका बुवा काँग्रेसी हुन् । पति एमाले । र, निलम पनि एमाले । त्यसमाथि झापाली । उनको योग्यता यति भए काफि छ । बाँकी त तपसिलका कुरा हुन् ।
प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहूँच छ भन्ने काँग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति र गभर्नरको खेलमा अर्बौको चलखेल भईरहेको रास्वपा नेता स्वर्णिम वाग्लेको आरोप त्यसै आएको होईन । विश्व तिनै व्यक्ति हुन्, काँग्रेसबाट जेजति सुविधा, अवसर र नियुक्ति पाए, स्वर्णिमले हात समातेर उनले यो अवस्थामा पु¥याएका हुन् । बिडम्बना स्वर्णिम काँग्रेसबाट आउट भए । विश्वको त्यही काँग्रेसमा रजगज भयो ।

रोचक कुरा त के भने काँग्रेसले गभर्नरमा अघि सारेका विश्व पौडेल अर्थमन्त्री विष्णु पौडेलका चेला हुन् । विश्वले अर्थमन्त्रीलाई बा भन्छन् । दशैंमा टीका लगाउछन् । विश्व अर्थमन्त्री पौडेलका आर्थिक सल्लाहकार मात्र होईनन, यसअघि विष्णु पौडेल अर्थमन्त्री हुदा ल्याएको बजेटमा विश्वको महत्वपूर्ण भूमिका र योगदान थियो भन्ने कुरा ओपन सेक्रेट छ ।

नेपाली काँग्रेसबाट टिकट पाएर चितवनमा चुनाव नलडेका भए यतिबेला विश्व प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकार हुने कुरा आशंका मात्र हुने थिएन, वास्तविकता हुने थियो । टिकट, पद, सुविधा र अवसर जति काँग्रेसबाट पाएकै कारण उनी प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकार हुन नसकेका हुन् ।

अर्थमन्त्री पौडेलको आर्थिक सल्लाहकार त यतिबेला पनि विश्व नै भएको कुरा एमालेका नेताहरु मात्र भन्दैनन्, काँग्रेसकै नेताहरुलाई यो कुरा थाह छ ।

बाहिरबाट हेर्दा गभर्नरमा काँग्रेसले अघि सारेपनि विश्व एमालेका अर्थमन्त्री विष्णु पौडेलका प्रिय चेला हुन् । अर्थमन्त्री पौडेल निलमलाई गभर्नर बनाउन चाहदैनन् । उनी त निलम भन्दा भट्ट नै गभर्नर बनोस भन्ने चाहन्थे । तर ओलीका अगाडि उनी प्रतिवाद वा आफ्नो बिचार लाद्ने क्षमता नराख्दा निलमको नाम सुन्न बाध्य भएका हुन् ।

दुई बा (प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल) का अगाडि दाई (शेर बहादुर देउवा) निरीह झै देखिएका छन् । देउवाले त प्रधानमन्त्री ओलीले भट्टलाई गभर्नर बनाउन चाहेको तर राष्ट्र बैंकको आन्तरिक समस्याले ढिलाई भएको अभिव्यक्ति नै दिए । ओलीले देउवालाई कुन हदसम्म गुमराहमा राख्न सफल भए देउवाको यही अभिव्यक्तिले पुष्टि गर्छ ।

निलम, जसलाई ओलीले कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर बनाए । र, डेपुटीबाट कामु गभर्नर । र, उनलाई गभर्नर बनाउने आश्वासन र आड दिने पनि ओली नै हुन् । निलमले कार्यकारी निर्देशक भट्टको राजिनामा स्वीकृत नगर्नु र त्यही बहानामा भट्टको सट्टा विश्वलाई गभर्नरका लागि काँग्रेसले अघि सार्नु संयोग मात्र होईन । यो नियोजित हो ।

निलमलाई गभर्नर बनाउने सवालमा पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाका बीचमा समान धारणा छ । यद्दपि दुबैका स्वार्थ भने फरक फरक छन् । भनिन्छ, खतिवडा आगामि १० वर्षसम्म एमाले अझ खासगरी आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । निलमलाई गभर्नर बनाएर उनी कार्यकारी निर्देशक रहेका आफ्ना ज्वाई रामशरण खरेललाई डेपुटी गभर्नर हुदै कामु र पाँच वर्षपछि गभर्नर बनाउन चाहन्छन् । निलम गभर्नर भएपनि आफू अनुकूल चलाउन सकिने र अधिकार जति ज्वाईलाई दिन लगाएर त्यहाँभित्र एमाले र आफ्नो हालीमुहाली गर्ने ध्याउन्नमा छन् ।

अव गभर्नर जो भएपनि कि एमालेको मान्छे –निलम) हुनेछिन् । कि एमालेको फेवरको मान्छे (विश्व)हुनेछ । त्यसको अर्थ निलम र विश्व बाहेक अर्को गभर्नर हुने देखिदैन् ।

बिचरा भट्ट त मोहरा बनाईए । बस्, चर्चामा ल्याएर ओली र देउवाले उनको जागीर र क्यारिएर सकिदिए । घर न घाटको बनाए ।
भट्टको राजिनामा स्वीकृत होस भन्ने राष्ट्र बैंकभित्रकै सिनियर लेवलका कर्मचारीहरुको पनि ईच्छा थियो । उनी गभर्नर हुदा त्यही भित्र अरु कर्मचारीको पदोन्नती हुन्थ्यो ।

बाहिरबाट ब्ल्याक मनी ल्याउन र पछिल्ला केही वर्षमा थुपारेको देशभित्र र बाहिर थुपारेको धनलाई बैधता दिन र त्यसलाई व्यवस्थापन गर्न गभर्नरमा निलम र विश्व उपर्युक्त र विश्वासिला पात्र हुने शीर्ष नेताहरुका बीचमा समझदारी जस्तै बनेको भन्नेहरु पनि छन् ।

जसका लागि भट्ट उपर्युक्त पात्र थिएनन । देशलाई ग्रे लिष्टबाट बाहिर ल्याउन वा अर्थतन्त्र सुधार गर्ने सोच र नियत कसैको छैन् । अर्थतन्त्र बुझेको व्यक्ति होईन, शीर्ष नेताको नियत र मति बुझेको गभर्नरको खोजी भईरहदा त्यो योग्यता भट्टमा थिएन । उनी आउट गरिनुको कारण यति हो ।

पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत शुरुमा डा. रविन्द्र पाण्डेलाई गभर्नर बनाउन चाहन्थे । उनी त्यो दौडबाट आउट भएपछि महत ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउने दौडमा थिए । ढुंगानालाई अर्वपति व्यवसायी बिनोद चौधरीको साथ थियो । साथै अन्य बैंकका सञ्चालकहरुको पनि । भनिन्छ्, ढुंगानालाई गभर्नर बनाउन उनीहरु सय करोड रुपैयाभन्दा बढि लगानी गर्न तयार थिए ।
यसैबीचमा सुशिल भट्टको नाम पनि गभर्नरका रुपमा केही समय चर्चामा आयो । लगानी बोर्डको सिईओका रुपमा सुशिलले निर्बाह गरेको भूमिका उत्कृष्ट भएपनि भाई दीपकसंग जोडेर उनलाई हेरियो । उनको कामलाई अवमूल्यन गरियो भन्नेहरु पनि छन् । यस पटक सुशिल चर्चा गरे जस्तो गभर्नरको दौडमै थिएनन । भनिन्छ्, उनका भाई दीपक भट्टको ईच्छा निलम ढुंगाना नै गभर्नर बने हुन्थ्यो भन्ने थियो । ओलीले नै निलमलाई बोकेपछि उनले बोक्नु पर्ने आवश्यकता नै रहेन् ।

एकथरीले बिनोद चौधरी र दीपक भट्टका साझा उम्मेदवारका रुपमा ज्ञानेन्द्र ढुंगानालाई चर्चा गरेपनि भट्ट भने चौधरीसंग उम्मेदवार साझा नगर्ने प्रष्ट देखिन्छ । किनकी मारवाडी समूहहरुबीच बिभाजन छ । एउटा समूहको नेतृत्व र संरक्षण भट्टले गर्छन । अर्कोको चौधरीले ।

काँग्रेस पृष्ठभूमिका ढुंगानाले काँग्रेस सभापति देउवा बाहेक काँग्रेसका सबै नेता समेत मिलाईसकेका थिए । सुदूरपश्चिमका सबै नेता, नौ वटै जिल्लाका पार्टी सभापति, नागरिक समाज र सर्वसाधारणले एक स्वरमा भट्टलाई गभर्नर बनाउन दवाव दिएका कारण देउवा भट्टलाई गभर्नर बनाउन अडिग थिए । तर देउवाका नजिकका अरु कुनै पनि व्यक्तिले भट्टलाई गभर्नर बनाउदा आफ्नो स्वार्थ पूर्ति नहुने देखेपछि भट्ट रिङबाट आउट भएका हुन् । सत्य यही हो ।

देउवालाई सबैले घुमाईदिए । उनलाई सबैले गुमराहमा राखे । राजिनामा स्वीकृत नभएकै अवस्थामा पनि भट्टलाई गभर्नर बनाउदा कुनै कानूनी जटिलता नआउने बरिष्ठ कानूनवीदहरु र पूर्व न्यायधिवक्ता खम्म खातीको सुझाव पनि किन कार्यान्वयन हुन सकेन् । त्यो ओपन सेक्रेट ।

बा हरुका अगाडि दाई निरीह भएकै कारण भट्ट गभर्नरको रिङबाट आउट भएका हुन् ।

भट्टलाई रोक्न सके ज्ञानेन्द्रलाई गभर्नर बनाउन सकिन्छ कि भनेर यो प्रकृयालाई गिजोल्ने एउटा पात्र डा. प्रकाश शरण महत पनि हुन् भनिन्छ । त्यही खेल अन्तर्गत ज्ञानेन्द्रसंगको साठगाठ र उक्साहटमा निलमले भट्टको राजिनामा स्वीकृत नगरेको बुझ्न कठिन हुदैन् । ज्ञानेन्द्र निलमका माईती हुन् । उनीहरु पारिवारिक नाता छ । भट्टलाई रोक्न सके आफूहरु मध्ये कुनै एक हुने निलम र ज्ञानेन्द्रको बुझाई थियो । त्यही बुझाई भट्टको राजिनामा स्वीकृत नहुनुको कारण हो । निलमले राजिनामा स्वीकृत नगर्दा भट्टलाई गभर्नर नियुक्त गर्दा कानूनी समस्या उत्पन्न हुन्न भन्ने डर देउवामा पैदा गर्न सक्ने ओलीले चैतको दोस्रो साता तिन महिना कार्यकाल बाँकी छदै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्नुले नै पुष्टि गर्छ, ओली कानूनी समस्यासंग डराउछन् कि डराउदैन् । तर नभएको डर देउवामा पैदा गर्न ओली सफल भए ।

सरकार जोगाउन देउवाले अघि सारेका भट्टलाई गभर्नर बनाउने प्रस्तावमा सहमती जनाएपनि ओली कुनै पनि हालतमा निलमलाई गभर्नर बनाउन चाहन्छन् भन्ने दुई महिना यताका ओलीका अभिव्यक्ति, व्यवहार र गतिबिधिले देखाईसकेको छ । विश्व पौडेल केही दिनमा नियुक्त भएनन भने उनी पनि गभर्नरको रिङबाट आउट हुनेछन् । र, निर्विकल्प उम्मेदवार हुनेछिन्, निलम । ओलीले चाहेको त्यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस