सुदूरपश्चिम सरकारमा नाउपाबाट रामेश्वर मन्त्री बन्दै

काठमाडौं । मन्त्रीको नाम सिफारिसलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको छ । संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत मन्त्रीको नाम सिफारिस गरेपछि नागरिक उन्मुक्तिभित्रको विवाद पुनः सतहमा आएको छ ।
नागरिक उन्मुक्तिको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सांसद रामेश्वर चौधरीलाई मन्त्री नियुक्त गर्न सिफारिस गरेको पत्र सार्वजनिक भएको छ । पत्रमा नेता घनश्याम चौधरीले रामेश्वरलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दललाई सिफारिससहित निर्देशनात्मक पत्र बुधबार पठाएकी थिइन् । तर संसदीय दलको बहुमतले त्यसलाई कार्यान्वयन नगरेपछि उन्मुक्तिको विवाद फेरि सतहमा आएको हो ।
अध्यक्षको पत्रपश्चात् दिनभर बसेको संसदीय दलको बैठकले अबेर रातिमात्रै बहुमतको आधारमा दलका नेता घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । तर प्रदेशसभाको विषयगत समितिको सभापतिसमेत रहेकोले चौधरी पछि हटेपछि मन्त्री नियुक्तिका लागि रामेश्वरको नाम सिफारिस गरिएको बताइएको छ ।
गत मंगलबार बसेको संसदीय दलको बैठकले पार्टी केन्द्रलाई पत्र पठाउँदै मन्त्रीको नाम सिफारिस गर्न वा मन्त्री चयनको अधिकार संसदीय दललाई दिन आग्रह गरेको थियो । त्यही पत्रका आधारमा अध्यक्ष श्रेष्ठले कैलाशलाई मन्त्री बनाउन दललाई निर्देशनात्मक पत्र पठाएकी थिइन् । उनले मुख्यमन्त्रीलाई समेत कैलाशलाई मन्त्री नियुक्त गर्न सिफारिस पत्र पठाएकी थिइन् । संसदीय दलमा अध्यक्ष श्रेष्ठ पक्ष अल्पमत र संरक्षक रेशम चौधरी पक्ष बहुमतमा छ ।