बस्ती स्थानान्तरणको पर्खाइमा बाजुराको गुम्लाबासी

द एभरेष्ट पोष्ट
३० वैशाख २०८२ १६:०५
बस्ती स्थानान्तरणको पर्खाइमा बाजुराको गुम्लाबासी

धनगढी,३० बैशाख । बाजुराको खप्तड छेडेदह गाउँपालिका – ७ गुम्लाबासी बस्ती स्थानान्तरणको पर्खाइमा रहेका छन् । २०२२ देखिको पहिरोको निकै उच्च जोखिममा रहँदै आएको यो गुम्ला गाउँ बस्ती अझै स्थानान्तरण हुन सकेको छैन । लामो समय देखिको बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद बर्खाको समयमा ज्यान जोगाउन समेत कठिन हुने गरेको छ ।

बस्ती स्थानान्तरणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार हारगुहार गर्दै आएको भए पनि आफ्नो माग भने कसैले पुरा नगरिदिएको यहाँका स्थानीयले दुखेसो गर्दै आएका छन् । हुन पनि हिउँदको सुख्खा समयमा पनि यहाँ पहिरो निरन्तर बगिरहन्छ । बर्खाको बेलमा त कुरै नगरौँ । यहाँ झन्डै दुई सय घरपरिवारको बसोबास छ । अहिले आधा गाउनै उठी सक्यो । पहिरोले बस्ती खाली गर्दै गएको छ । तर पनि यहाँ कसैको नजर भने गएको छैन ।

गुम्लागाउँका स्थानीय विष्णुबहादुर रावतले बाध्यताले आफूहरु यहाँ बसोबास गरिरहेको बताए । उनले अन्त कतै जाने ठाउँ नभएकाले बाध्यताले पहिरोसँग मितेरी गाँसेर बस्नुपरेको बताए । ‘अव बर्खा लाग्न सुरु भयो । हिउँदमा त घरमा राम्रो सँग सुत्ने गरेका थियौँ । बर्खाको पानी पर्ने वित्तिकै पहिरो बग्न सुरु हुन्छ । यसरी पहिरो बगेपछि कती खेर पहिरोमा परिनेको र घर नै बगाउने हो भन्ने डर हुन्छ’ उनले भने ।

सरकारले कतै बास बस्नका लागि व्यवस्था गरिदिए पहिरोको डर नहुने उनि बताउँछन । यस्तै बजेडीका स्थानीयवासी पनि यही पहिरोकै डरैडरमा रात काट्दै आइरहेका छन् । पहिरोका कारण यहाँका झन्डै ९० घरपरिवार पहिला नै विस्थापित भइसकेका छन् भने १३५ घर परिवार अझैँ पहिरोको उच्च जोखिममा छन् ।

यहाँका स्थानीयले पनि सरकार सँग धेरै पटक माग राख्दै आएका छन् । तर पनि उनीहरूको यो समस्या कतै देखि हल भएको छैन । पहिरोका कारण यहाँको झन्डै सात हजार रोपनी जमिन बगरमा परिणत भएको छ भने अझै पहिरो नरोकिएकोले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था छ ।

अहिले यहाँका स्थानीय साइरनको सहारामा गाउँमा बास गर्दै आएका छन् । साइरनले पहिरो आएको गएको बारेमा जानकारी दिने भएकोले उनीहरू यसैको सहारामा गाउँमा बस्ने गरेका हुन् । पहिरोको जोखिम परेर स्थानान्तरण गर्नु पर्ने गाउँ बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयमा जानकारी गरेको भएपनि उता देखि केही खबर नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस