प्रचण्ड र माओवादी सुदूरपश्चिम संसदीय दलबिच छलफल, निर्णायक बैठक डडेलधुरामा बस्ने

द एभरेष्ट पोष्ट
२८ वैशाख २०८२ ११:४५
प्रचण्ड र माओवादी सुदूरपश्चिम संसदीय दलबिच छलफल, निर्णायक बैठक डडेलधुरामा बस्ने

काठमाडौँ, २८ वैशाखः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि प्रयास जारी राखेका छन् ।

लामो समयदेखिको विवाद समाधान गर्न आइतबार बिहान निजी निवास खुमलटारमा नेता खगराज भट्ट सहितका सांसदहरू छलफल गरेका छन् । छलफल सकारात्मक भएपनि संसदीय दलका नेता मानबहादुर धामी घर फर्किएकाले कुनै सहमति नभएको भट्टले जानकारी दिए ।

‘संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष प्रचण्डसँग छलफल भइरहेको छ । यद्यपि कुनै सहमति भएको छैन । केही दिनमा समाधान निस्केला’, उनले भने ।

यसअघि पनि पटक पटक छलफल गरेपनि सहमति हुन नसकेको अवस्थामा प्रचण्डले वैशाख २४ गते दुवै पक्षलाई बोलाएका थिए । तर अन्तिम समयमा छलफल स्थगित भएपछि अधिकांश सांसदहरू घर फर्किसकेकोले कुनै सहमति नभएको अर्का सांसद शिवसिंह ओलीले बताए । ओलीका अनुसार प्रचण्डले दुवै पक्षलाई जेठ १ गते डडेलधुरामा बोलाएका छन् ।

‘संसदीय दलका नेतासहित अधिकांश सांसदहरू घर फर्किसकेका छन् । आजको छलफलमा चार जना सांसद मात्र थियौँ । विवाद समाधानका लागि अध्यक्षले जेठ १ गते डडेलधुरामा बोलाउनुभएको छ । बैठक सकारात्मक देखिन्छ’, ओलीले भने ।

प्रचण्ड निवासमा भट्ट, ओली, रमेशसिंह धामी र झपटबहादुर साउद सहभागी भएका थिए । प्रचण्ड मध्यपहाडी लोकमार्ग अन्तर्गतको अभियानमा भाग लिन जेठ १ गते डडेलधुरा जाँदै छन् । २०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर दलको नेता बनेका थिए । दलको नेता भट्टलाई बनाउन पार्टीले चार पटक परिपत्र नै पठाएको थियो । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस