६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै ज्येष्ठ नागरिक

कैलाली । बिहान करिब साढे ११ बजेतिर धनगढीको मुख्य सडकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थीको भीड थियो । १६र१७ वर्षे किशोरकिशोरीहरुको भीडमा एक वृद्धको उपस्थितिले सबैको ध्यान तान्यो ।
विद्यालयको पोसाक लगाएका, हातमा प्रवेशपत्र बोकेका ती वृद्ध धनगढी उपमहानगरपालिका–३, विशालनगरका ६५ वर्षीय गणेश बहादुर सिंह थिए । टाइ–बेल्ट, कालो जुत्तामा चिटिक्क परेका उनको जोश कुनै किशोरावस्थाको विद्यार्थीभन्दा कम थिए ।
उनी पनि तिनै किशोरकिशोरीहरुसँग कक्षा १२ को परीक्षा दिएर फर्किरहेका थिए । उनी नेपालमा १२ को परीक्षा दिने सबैभन्दा पाका उमेरका विद्यार्थी हुन् ।
‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने जस्तै पूर्व शिक्षक सिंहको अध्ययनप्रतिको इच्छा उमेरले रोकेन । २०१७ सालमा बझाङको बुंगल नगरपालिका ९साविक कफलसेरी गाविस–४० मा जन्मिएका सिंहको बाल्यकालदेखि नै पढ्ने ठूलो इच्छा थियो । २०३६ सालमा स्थानीय सरस्वती हाई स्कुल, विजगडाबाट एसएलसी पास गरे पनि पारिवारिक जिम्मेवारीले उनलाई अगाडि बढ्न दिएन ।
चार बहिनी र पाँच भाईमध्ये जेठा सन्तान भएकाले घरधन्दा उनकै काँधमा पर्यो । दुई वर्षसम्म व्यवसायमा लागे । तर मन शान्त भएन । ‘पढ्न त पाइएन, तर अरूलाई पढाउँछु भनेर व्यापार छोडें,’ सिंह सम्झिन्छन् । ०३९ सालमा गाउँकै महादेव निमाविबाट शिक्षण पेसा सुरु गरे । ३६ वर्षको शिक्षकीय सेवामा १२ वर्ष बालकोटको माझिवन विद्यालय र १२ वर्ष दुर्गा आधारभूत विद्यालय, चिल्ठामा प्रधानाध्यापकका रूपमा काम गरे । २०७७ सालमा दुर्गा आधारभूतबाटै सेवानिवृत्त भए।
सिंह अहिले सेवानिवृत्त जीवनलाई विश्राम होइन, पुनः अध्ययनको अवसरका रूपमा उपयोग गरिरहेका छन् । ‘शिक्षक भएर अरूलाई सिकाएँ, अब आफ्नै सिक्ने पालो आयो’, उनले मुस्कुराउँदै भने । २०४६ सालमा सिंहको परिवारमा कानुनी झमेलाले ठूलो तनाव ल्यायो । विवाद अदालतसम्म गयो । झण्डै आठ वर्षसम्म मुद्दा चल्यो। यसले सिंह परिवारको समय र पैसा दुवै गुम्यो । त्यहीबेला उनलाई लाग्यो ‘हामीले कानुन नबुझेकै कारण यो सब भयो ।
त्यसपछि उनले अठोट गरे ‘अब कानुन बुझेर मात्र होइन, कानुन विषय पढेरै जान्छु ।’ तर अठोट लिए जस्तो पढ्न सजिलो थिएन । समय व्यवस्थापन उनका लागि ठूलो चुनौती थियो । बझाङमा रहँदा कानुन पढ्न सम्भव थिएन । २०७७ मा रिटायर्ड भएपछि परिवारसहित कैलाली सरे । २०८१ सालमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपिए० मा कक्षा ११ मा कानुन विषय लिएर भर्ना भए । उनी नियमित रुपमा झोला र किताब बोकेर विद्यालय उपस्थित भए ।
‘मैले राम्रै अंक ल्याएर ११ कक्षा पास गरेँ,’ उनी सुनाउँछन् । विद्यालय पोसाकमा देख्दा सुरुमा अरू विद्यार्थी, शिक्षक सबै अचम्म मान्थे । कतिले हाँसे, मजाक पनि उडाए । तर त्यो कुराले सिंहको मनोबल घटेन । परिवारमा पनि छोरा र बुहारीले पढ्न हौसला दिए । श्रीमती भने सुरुमा खुसी नभएको उनी बताउँछन् ।
जीवनको उत्तरार्धमा भए पनि आफ्नो कानुन पढ्ने सपना पूरा भएकामा सिंह मख्ख छन् । कानुन सबैले बुझ्नुपर्ने र कानुनको अनविज्ञता कसैलाई क्षम्य नभएको उनी बताउँछन् । भन्छन्,‘यो उमेरमा पढेर वकिल त नबनुला तर कानुन सम्बिन्धी बुझेका कुरा सबैलाई सिकाउने छु ।’