भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा गर्यो मिसाईल आक्रमण

दिल्ली, ७ मे
पहलगाम आक्रमणको बदलामा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आक्रमण गरेको छ । बुधबार बिहान एक बजे शुरु गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।
‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो । भारत सरकारले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमाथि सेनाले अपरेशन सिन्दर शुरु गरेको जनाएको छ ।
पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो ।
बुधबार बिहान करिब पौने २ बजेतिर पाकिस्तान अधिकृत कश्मीरमा एअर स्ट्राइक गरिएको हो । जसमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको हो ।
पाकिस्तानका स्थानीय मिडियाका अनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट गरिएको छ ।
भारत सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ, यस अपरेसनमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आतंकवादी संरचनाहरूलाई लक्षित गरिएको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइयो र तिनीहरूको कार्यान्वयन गरियो।
विज्ञप्तिमा मार्फत नौ वटा स्थानलाई लक्षित गरेर आक्रमण गरिएको भारत सरकारले जनाएको छ ।
अर्कोतर्फ पाकिस्तानको सरकारी टेलिभिजनले सेनाका प्रवक्ताको हवाला दिँदै भनेको छ कि भारतीय सेनाले पाकिस्तानमा तीन स्थानहरूमा मिसाइल आक्रमण गरेको छ।