कसले गिजोलिरहेको छ, गभर्नर नियुक्ति प्रकृया ?

द एभरेष्ट पोष्ट
२३ वैशाख २०८२ ९:४१
कसले गिजोलिरहेको छ, गभर्नर नियुक्ति प्रकृया ?

काठमाण्डौं, २३ बैशाख ।
स्वार्थ समूह र बिचौलियाहरुको दवावमा गभर्नर हुने दौडमा रहेका केही व्यक्तिहरु आफ्नो गभर्नर हुने सपना चकनाचूर भएपछि डा. गुणाकर भट्टलाई विवादित बनाउने कसरतमा जुटेका छन् ।

कतिसम्म भने स्वार्थ समूह र बिचौलियाको कहिल्यै नजिक नपरेका र आर्थिक हिसावले कहिल्यै कुनै विवादमा नपरेका भट्टलाई केही बिचौलियासंग जोडेर गभर्नरको दौडमा रहेका व्यक्तिहरुले केही मिडियामा काल्पनिक समाचार नै लेख्न लगाए ।
निलम ढुंगानाको गभर्नर बन्ने संभावना त्यही दिन समाप्त भयो, जुन दिन प्रधानमन्त्री ओली र देउवाबीच डा. भट्टलाई गभर्नर बनाउने सहमती भयो ।

कथमकदाचित भट्ट गभर्नर नभएपनि ढुंगाना गभर्नर बन्ने संभावना अलिकति पनि छैन् । यो कुरा पनि ढुंगानाले नबुझेकी होईन ।
उनी यतिबेला भट्टलाई गभर्नर बन्नबाट रोक्ने मोहरा बनेकी छन् । भट्टको राजिनामा स्वीकृत नगर्नु त्यसको उदाहरण हो ।
गभर्नर प्रकृया लम्बिनुको कारण ढुंगानाको अस्वाभाविक हर्कतलाई ठह¥याईएपनि यो लम्बिनुमा दुई जनाको हात छ, पहिलो प्रधानमन्त्री ओली । दोस्रो ज्ञानेन्द्र ढुंगाना । निलम र ज्ञानेन्द्रबीच भट्टलाई रोक्न घोषित सहकार्य छ भन्ने चर्चा सर्वत्र छ ।

गभर्नरका लागि तीन जनाको नाम सिफारिस हुदा पहिलोमा भट्टको नाम परेपनि दोस्रोमा आफ्नो नाम सिफारिस गर्ने ध्याउन्नमा छन्, ज्ञानेन्द्र । तेस्रोमा निलमको नाम सिफारिस हुनेछ । त्यसो हुदा भट्टलाई विवादित बनाएर अदालतमा मुद्दा दायर गर्ने र अदालतलाई पैसाको बलमा मिलाउने ल्याकत राख्ने ढुंगाना त्यसपछि आफू गभर्नर बन्ने दाउमा रहेको स्रोतको दावी छ ।

ओलीको मौनताले यो सबै कुरामा बल पुगेको छ । देउवासंगको सहमती तत्काल कार्यान्वयन चाहने भए ओली सहमती भएकै भोलिपल्ट भट्टको राजिनामा स्वीकृत गर्न दवाव दिन्थे । ओलीले त्यसो गरेनन । निलमलाई कामु गभर्नर ओलीले नियुक्त गरेका हुन् । र, त्यसअघि डेपुटी गभर्नर पनि उनलै बनाएका हुन् । र, गभर्नरका रुपमा निलमलाई ओलीले नै सारेका हुन् । ओलीकै आडमा निलमले भट्टको राजिनामा स्वीकृत नगरेको बुझ्न कठिन हुदैन ।

हुन् त केही दिनअघि निलमलाई अर्थमन्त्री र प्रधानमन्त्री ओलीले राजिनामा स्वीकृत गर्न निर्देशन दिएको कुरा पनि मिडियामा आयो । तर निलम टसमस भईनन् । आफ्नै निर्देशन अवज्ञा गर्ने निलमलाई प्रधानमन्त्री ओलीले काम गभर्नरबाट किन हटाउन सकेनन्, कामु गभर्नर नै अर्को व्यक्तिलाई बनाउन त ओलीले सक्छन्, तर ओलीले त्यसो गरेनन । यसैले प्रष्ट संकेत गर्छ, गभर्नर प्रकृयामा ढिलाई भएको विषयलाई लिएर संसद र सडकमा सरकारको बिरोध भईरहेपनि ओलीलाई किञ्चित छोएको छैन् ।

नेपालका मूलधारका भनिने मिडियालाई यो थाह नभएको होईन कि गभर्नर प्रकृया कसले गिजोलिरहेको छ, आर्थिक चलखेल र न्यायालयलाई प्रभावित गर्ने काम कसले गरिरहेको छ, तर मिडियाले यी सबै कुरा थाह पाएर पनि मौनता साँधेको छ ।
अझ उदेक लाग्दो कुरा त के भने, आर्थिक बीटमा काम गर्ने अधिकांश पत्रकारहरु काँग्रेस समर्थक छन्, तर काँग्रेसका आधिकारिक उम्मेदवारका पक्षमा कसैले कलम चलाएका छैनन् । बरु नेपथ्यमा कसैसंग सम्झौता गरेर भट्टका विपक्षमा समाचार लेख्न चुकेका छैनन् । उनीहरुलाई त अरुले नै म्यानेज गरेको कुरा बताईरहनु परेन । त्यो त रिपोर्टिङले बताइसकेको छ । उनीहरुलाई यो पनि थाह नभएको होईन कि गभर्नरका लागि स्वच्छ र योग्यता, अनुभवले परिपक्व व्यक्ति डा. भट्ट नै हुन । तर खिचडी भने अर्कैका लागि पकाउने मिडियाको नीति उदेक लाग्दो छ ।

देउवाले ईमान्दार कोसिस गरेका छन् । उनी आफ्नो बचनमा अडिग छन् । ओलीसंगको भेटमा देउवाले एउटै अडान राख्ने गरेका छन्, भट्टलाई गभर्नर बनाउ ।

प्रधानमन्त्री केपी शर्मा ओली गभर्नर पदलाई बार्गेनिङ गर्ने हतियार बनाईरहेका छन् । ओलीले प्रहरी प्रमुख आफ्नो फेभरको नियुक्त गरिसकेका छन् । र, अव हुने वाला प्रहरी प्रमुखको लाईनमा पनि उनले आफू अनुकूलका व्यक्तिलाई बनाईसकेका    छन् ।

गभर्नर उनी छोड्न तयार छन् । तर नियुक्तिको प्रकृयालाई लम्ब्याउने हतियार निलम ढुंगानालाई बनाएर प्रमुख निर्वाचन आयुक्तमा आफू अनुकूलको व्यक्ति नियुक्त गर्न देउवालाई दवाव दिईरहेका छन् ।

निलम ढुंगाना आफ्नो बिबेक वा सामथ्र्यले भट्टको राजिनामा स्वीकृत नगर्ने क्षमता राख्दिनन् । उनी ओलीका लागि प्रयोग भईरहेकी छन् । उनलाई ओलीले नै गभर्नरका रुपमा अघि सारेका थिए । तर सरकार जोगाउन उनी देउवाको भट्टलाई गभर्नर बनाउने प्रस्ताव मान्न बाध्य भए ।

गभर्नरको नियुक्ति प्रकृयामा जानाजान गरिएको ढिलाईका कारण सरकार र आफ्नो ग्राफ ओरालो लागिरहेको कुरा ओलीलाई थाह छैन होला भन्ने ठान्नु केवल मूर्खता हुनेछ । तर आफ्नो हठ पुरा गर्न जुनसुकै हदसम्म जानसक्ने उनको आदत नै छ ।
ओलीको त्यही आदतले प्रभावित भएको हो, गभर्नर नियुक्ति प्रकृया ।

काँग्रेससंगको सहकार्यमा प्रधानमन्त्री भएपछि ओलीले फर्केर पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हेरेनन् । पछिल्ला केही दिनमा ओलीको प्रचण्ड प्रेम बुझिनसक्नु छ । प्रचण्डसंगको भेट, उनलाई दिईरहेका महत्व, उनीसंगको भेटको हाउभाउ हेर्दा लाग्छ, ओली त्यो सबै कुरा देउवालाई तर्साउन गरिरहेका छन्, ओलीले देउवालाई सन्देश दिन खोजिरहेका छन्, तिमीले मैले भनेको नमाने प्रचण्डसंग सहकार्य गर्न सक्छु ।

ओली प्रमुख निर्वाचन आयुक्त पनि आफ्नै अनुकुलको व्यक्ति बनाउन चाहन्छन् । काँग्रेसले अघि सारेको गभर्नरलाई उनले मनबाट स्वीकार गर्न सकेकै छैनन् ।

अन्य संबैधानिक नियुक्तिमा पनि उनी हावी हुने देखिन्छन् । सबै पदमा आफ्नो अनुकुलका व्यक्ति नियुक्ति गरिसकेपछि चुनावी सरकारको नेतृत्व देउवालाई उनले गर्न दिने कुरै भएन । जसले गभर्नर छोड्न सकेको छैन् । उसले प्रधानमन्त्री पद छोड्छ भन्ने विश्वास गर्न सकिदैन् ।

प्रहरी प्रमुख आफ्नो अनुकूल बनाइसकेका ओलीले प्रमुख निर्वाचन आयुक्त, गभर्नर र अन्य महत्वपूर्ण नियुक्तिहरु आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राख्ने छैनन् ।

चुनाव अघि प्रचण्डलाई रिझ्याएर बामपन्थी सरकार र चुनावमा बामपन्थी एकता कायम गरेर काँग्रेसलाई धुलिसात गर्ने योजनामा ओली छैनन् भन्न सकिदैन् ।

डा. गुणाकरको ‘तागत’

गभर्नर हुने भट्टको सबैभन्दा ठूलो तागत उनको योग्यता, अनुभव, ईमान, बेदाग छवि हो । त्रिभुवन विश्व विद्यालयका गोल्डमेडालिष्ट डा. भट्टले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् ।

उनी कुनै स्वार्थ समूह र बिचौलियाले बोकेका व्यक्ति होईनन, यो उनको तागत हो । उनी देउवालाई रिझाएर गभर्नर बन्ने प्रकृयामा सहभागी भएका होईनन् । कर्ममा विश्वास गर्ने उनी महत्वाकांक्षी नभएका कारण कहिल्यै पद र अवसरका लागि शक्तिकेन्द्र र स्वार्थ समूहको दैलोमा गएनन । यो उनको थप तागत हो ।

उनको अर्को तागत हो, सुदूर पश्चिमका सम्पूर्ण दल, प्रबुद्ध बर्ग र बिभिन्न पेशाकर्मीहरुको उनीप्रतिको सद्भाव र समर्थन । पार्टी सभापति शेर बहादुर देउवा र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा धनगढी आउदा सबैले एकस्वरमा भने, डा. गुणाकर भट्टलाई गभर्नर बनाउनु पर्छ ।

एउटा व्यक्तिलाई लिएर यति ठूलो जनसमर्थन बिरलै हुनेगर्छ । जुन समर्थन भट्टले पाएका छन् ।

नेपाली काँग्रेसका सुदूर पश्चिम प्रदेश सभापति बीर बहादुर बलायरको नेतृत्वमा नौ वटै जिल्लाका सभापति र यस प्रदेशका सिनियर नेताहरुले देउवा र राणालाई भेटेरै भने–डा.गुणाकर भट्टलाई गभर्नर बनाउनु ।

जवसम्म उनलाई गभर्नर बनाउने विषयमा सहमती भएको थिएन । त्यो दिनसम्म उनले पार्टी सभापति देउवा र परराष्ट्र राणासंग भेट नै पाएका थिएनन । जव उनको नाममा सहमती जुट्यो । देउवाले नै बोलाएर भने, तपाईलाई गभर्नर बनाउदै छु । राम्रोसंग काम गर्नु ।

शक्तिकेन्द्र नधाएरै गभर्नर बन्ने लाईनको अग्रभागमा पुग्ने उनी एक मात्र व्यक्ति हुन् । त्यही कारण पनि शक्तिकेन्द्र, बिचौलिया र स्वार्थ समूहहरुमा त्यही दिनदेखि बेचैनी शुरु भयो । र, आजका दिनसम्म जे जति षडयन्त्र भए, गभर्नर नियुक्ति प्रकृया लम्बियो, त्यसमा तिनै समूहको हात छ । तर कसैले रोकेर डा.भट्टको गभर्नर हुने बाटो छेकिनेवाला छैन् । ढिलोचाडोको कुरा मात्र हो ।

सुदूर पश्चिमवासीको यो साझा भावना र आग्रहलाई अवज्ञा गर्दा हुनसक्ने राजनैतिक क्षति देउवा र राणा दुबैले राम्रोसंग बुझेका छन् । त्योभन्दा पनि देउवाभित्र रहेको सुदूरपश्चिम सेन्टिमेण्टले काम गरिरहेको छ । देउवा त्यही सेन्टिेमण्टका कारण निश्वार्थ रुपमा भट्टलाई गभर्नर बनाउने अडानमा छन् । उनी त्यो अडानबाट टसमस छैनन् । भलै उनलाई कानूनी जटिलता र गभर्नर प्रकृयामा जय बहादुर चन्द प्रकरण दोहरिन सक्ने डर पैदा गर्न स्वार्थ समूह र बिचौलियाहरु पुरै लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस