‘ह्याकरवन एम्बास्डर वर्ल्डकप : क्वाटरफाइनलबाट बाहिरियो नेपाल
 
                                 काठमाडौं । विश्वकै प्रतिष्ठित ह्याकिङ प्रतियोगिता ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२४’ मा नेपाली टिम क्वाटरफाइनलबाट बाहिरिएको छ । मङ्गलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ह्याकरवनले नेपाल प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएको हो ।
यसअघि, नेपाली टिमले बेलायतलाई पराजित गर्दै शीर्ष १६ अर्थात् क्वाटरफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अब सेमिफाइनलमा नेदरल्यान्ड्स र स्पेन तथा ग्रीस र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ । विजयी हुने टिमहरू फाइनल चरणमा आमनेसामने हुनेछन् ।
ह्याकरवन एम्बास्डर वर्ल्डकप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका ह्याकरहरूको टिमले विभिन्न सिस्टममा रहेका कमजोरी (बग) पत्ता लगाउने प्रतिस्पर्धा गर्छन् । जुन टिमले तोकिएको समयसीमाभित्र बढी कमजोरी पहिचान गर्छ, त्यसकै अंक बढी रहन्छ । अन्ततः सर्वाधिक अंक प्राप्त गर्ने टिम विजेता घोषित हुन्छ ।
नेपालको टिममा रहेका ह्याकरहरू:
आनन्द ढकाल, आकाश हमाल, सन्दीप ओली, कुशल ढकाल, प्रशान्त भट्टराई, वैभव आनन्द झा, खगेश्वर जोशी, अविरल श्रेष्ठ, आयुष श्रेष्ठ, विवेक उप्रेती, विवेक ढकाल, रिकेश बानियाँ, विशाल श्रेष्ठ, मिलन कटुवाल, प्रणव प्रणय, विश्वदीप तामाङ, R3dpars3c, 20_root, मधुसूदन आचार्य र प्रसिद्ध भुसाल ।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     