कहिले मिल्ला न्याय ?

५ मंसिर २०८१ ४:०७
कहिले मिल्ला न्याय ?

१९ असोज २०५९ मा डोटीको तत्कालिन बर्छेन गाविसको छेडामा तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको सास्कृतिक कार्यक्रममा आक्रमण गरेको सुरक्षाफौजले खेत जोतिरहेका दल बहादुर चन्द, लोकेन्द्र बहादुर चन्द, रण बहादुर चन्द, टेक बहादुर चन्द र गोरु खरिद गर्न गएका डबल बहादुर सार्कीलाई लाईन लगाएर गोली हानी हत्या ग¥यो । सर्चका क्रममा सुरक्षाफौजने घरभित्र रहेकी निर्मला चन्दलाई समेत गोली हानी हत्या ग¥यो भने गोली प्रहारबाट चन्दका छोरा घाईते भए । लाईन लगाएर गोली हानेपछि म¥यो भनेर छोडिएका बर्छेनकै चक्र बहादुर मटेली धन्न जोगिए ।

२०५९ साल असोज १० गते आफ्नो भाई नर बहादुर बोहरालाई सुरक्षाकर्मीले कुटपिट गर्न लागेको जानकारी पाई बचाउन खोज्दा डोटी विपीनगरका खडक बहादुर बोहराको सुरक्षाकर्मीले गोली हानी हत्या गरे ।

बैतडी जिल्लाको तत्कालिन वासुलिङ्ग गाविस–७ लिस्किटा(हाल सुर्नया गाउँपालिका) का पूर्व प्रहरी नारद पाण्डेलाई छिमेकीको बिबाहमा जन्ती गएको अवस्थामा डडेल्धुराबाट सुरक्षाकर्मीले पक्राउ गरी डिलासैनी मन्दिरमा लगेर गोली हानी हत्या गरे ।

२९ जेठ २०६० मा माओवादीले सोधपुछ गर्नुछ भनेर लगेर गएका कैलालीको रामशिखरझाला गाविस–८ देउकलियाका दीर्घसिंह बमका छोरा ठम्मानसिंह बमको शब घरबाट डेड किलोमिटर दक्षिण कान्द्रा नदीको किनारमा गाडिएको अवस्थामा विशेषज्ञ र प्रहरी सहितको उपस्थितिमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले उत्खनन गरेर निकाल्यो ।

बाजुरा पाण्डुसैन–७ का हरीकृष्ण रावतका घरमा दीपावलीको अवसरमा तास खेलिरहेका ८ जना सर्वसाधारणलाई माओवादीको आरोपमा सेनाले ७ कार्तिक २०५९ राति पौने चार बजे एक चिहान बनायो । उप सेनानी झलेन्द्र बस्नेत र प्रहरी निरिक्षक हर्क बहादुर कार्कीको नेतृत्वमा गएको संयुक्त सुरक्षाफौजले हत्या गरेका रामलाल दमाई ५०, तुला रावत २१, काशी सार्की २९, सौर्य रावत ३३, चन्द्र बोहरा ४४, रुप दमाई ४०, नर बहादुर बाहरा ३३, पदम बहादुर शाही ३७, का परिवारले अहिलेसम्म कुनै राहत पाएका छैनन । न त उक्त घटनामा संलग्न सुरक्षाकर्मीहरुमाथि कारबाही नै भएको छ ।

१४ कार्तिक २०६० मा कैलालीको पहाडी गाबिस खैरालाका जय बहादुर भुल, लाल बहादुर सिजाली, हरीसिंह भुल, गगन थापा, किस्न बहादुर सार्की खेतमा धान चुटिरहेको अवस्थामा सुरक्षाफौजको निशाना बने । माओवादीका नाममा मारिएका उनीहरु निर्दोष सर्वसाधारण थिए । जसको माओवादीसंग कुनै साईनो थिएन ।
खेतको काम सकेर घर फर्किदै गर्दा अछामको बस्ती गाविसका चन्द्रीका जैसी, डम्बरप्रसाद जैसी, विष्णादेवी जैसी, टेकराज जैसी लोडघाट पुलमा सेनाको आक्रमणमा मारिए । निहत्था अनि निर्दोष उनीहरु मारिएपछि रेडियो नेपालबाट चार जना आतंककारी सुरक्षाफौजसंगको भिडन्तमा मारिएको समाचार प्रशारण भयो ।

३० जेठ २०६२ को राति १२ बजे सशस्त्र प्रहरी बल बडी मालिका गण रहेको कैलालीको बनबेहडामा सुरक्षाकर्मीकी पत्नी लक्ष्मी शाह २१, उनका एक वर्षीय छोरा दिपेन्द्र, दुर्गादेवी ऐर, राधादेवी सिंह र सशस्त्र प्रहरीमा भर्ना हुन आएका गणेश विक र प्रेम भुल क्रूरतापूर्वक मारिए । उनीहरुलाई माओवादीले मारेको आरोप लाग्यो । तर घटनाको जिम्मवारी कसैले लिएन । र, उक्त घट्नामा संलग्न भएको आरोपमा न कोही कानुनी दायरामा आए । न कसैमाथि कारबाही भयो ।

२०५८ सालपछि माओवादीले कैलालीको पहलमानपुरमा शितलदास चौधरी, दीपेन्द्र हमाल, पूर्ण सिंह कामी, बीर बहादुर भुल, कञ्चनपुर कृष्णपुरका मदनराज जोशी, दैजीका हिक्मत विष्ट, कालिकाका पदम बहादुर थापा, कृष्णपुरका निर्मल ओझा, चाँदनीका अन्तराम भट्टको नृशंस तरिकाले हत्या गरे । भट्टलाई त काटेर छ टुक्रा बनाए ।

३० पुष २०५९ मा बर्दिया मानपुर टपराका जनमोर्चा कार्यकर्ता भोज बहादुर कार्की र टोप बहादुर कार्कीलाई माओवादीको आरोपमा सेनाले हत्या ग¥यो ।

१० मंसिर २०५५ मा जाजरकोटको दह गाविसका १७ जना निशस्त्र सर्वसाधारणलाई गिरफ्तार गरेको प्रहरीले दुई दिनपछि १२ जनाको मजकोट गाबिस ९ को भानुकुइया लेकमा हत्या ग¥यो । पाँच जनालाई छोड्यो ।

दैलेखको नौमूले प्रहरी चौकी तथा जाजरकोटको गखांकोट र दसेरा प्रहरी चौकीबाट गएका प्रहरीले दह गाविस–१, नेपानेका कर्म सिंह घर्तीको विवाहको भोज खाएर बसिरहेका जंगबहादुर घर्ती, प्रसाद रोका, करबिर बुढा, कलबहादुर घर्ती र बलबीर घर्तीलाई अवदेखि माओवादीलाई सहयोग नगर्नु छोडी दिए । विवाहको घर घेरा हालेर राती करिव ७ बजे आफूसंगै लगेका जयबहादुर घर्ती, रणबहादुर घर्ती, बुद्धिराज घर्ती, लाल बहादुर घर्ती, गोरे घर्ती, शेरसिंह घर्ती, खड्क बहादुर घर्ती, सेतु सिंह घर्ती कमानसिंह घर्ती, पृथ्वीबहादुर घर्ती, जमाने रोका कृष्णबहादुर शाहीलाई राति सानोखोलेमा राखे । र,  भोलिपल्ट बासुमा लगेर उनीहरुको गोली हानेर हत्या गरे । उनीहरुले बेहुला कर्मसिंह घर्तीलाई पनि बाँकी राखेनन । उनको पनि त्यही हत्या गरे ।

११ फागन २०५८ मा दैलेखको राकम कर्णालीबाट गएको सेनाको टोलीले कामीकोटको कोटवाडामा विमानस्थल निर्माण गर्ने कार्यमा संलग्न भएका ३५ जना मजदुर तथा एक ६ महिनाको बालकलाई कब्जामा लिएर हत्या ग¥यो ।

सेनाले विमानस्थल निर्माण कार्यमा संलग्न धादिङको जोगिमाराका चित्रबहादुर प्रजा, डिल्ली प्रजा, शेर बहादुर प्रजा, कुम्ले प्रजा, रामबहादुर प्रजा, विकास प्रजा, टेकबहादुर बिक, सानु बिक, टेकबहादुर गुरुङ, गोकर्ण बहादुर गुरुङ, कान्छा प्रजा, बुधबहादुर प्रजा, मञ्जु थापा मगर, राजकुमार श्रेष्ठ, राजकुमार विक, भिमबहादुर थापामगर, ज्ञानबहादुर थापा मगर, तनहुँका जन्तरे लाटा मगर, ईलामका प्रदीप राई, गोरखाका कुमार थापा (ठेकेदार), दोलाल घाटका प्रेम लामा (माइला), रामेछापका, हर्क तामाङ, काभ्रेका पासाङ लामा, मकवानपुरका बुद्धिमान च्याङवा, सोलुखुम्बु चित्रबहादुर राई, भोजपुरका निरकुमार खत्री, मोरङका कृष्ण थापा, स्थानीय कोटवाडाका लालबहादुर कठायत, भिमबहादुर कठायत, गोर्खे कठायत, टेक बिष्ट, गंगा विष्ट, नोर्बु शेर्पा, लक्ष्मण भण्डारा, ६ महिने बालक नविन कुमार विष्टको कुरतापूर्वक हत्या गरे । होटलमा चिया खादै गरेका मजदुरहरुलाई मार्न खोजेका सेनालाई उनीहरु मात्रओवादी नभएको बताउने शेर्पा होटलका मालिक तेन्जिङ नोर्बु शेर्पा समेत मारिए । सेनाले युद्धकालमा यति ठूलो संख्यामा सर्वसाधारणको हत्या गरेको यो पहिलो घटना थियो । उनीहरुलाई लाईन लगाएर गोली हानी हत्या गरेपनि सेनाले भिडन्तमा आतंककारी मारिएको समाचार प्रशारण गरेको थियो ।

कोटवाडामा मारिएकाहरुको लाश समेत आफन्तलाई नदिई सेनाले गाउँलेहरु जम्मा गरेर नजिकै खाल्डो खनी पुर्न लगाएका थिए । लाश नपाएका कारण मृतकका आफन्तजनले कुशको शब बनाएर सद्गती गरेका थिए ।

२६ फागुन २०५५ को राति रोल्पाको हार्जङ गाविस–३ हार्जडमा बलबहादुर रोकाको घरमा माओवादीको डरले सामुहिक रुपमा सुतेका गाउँलेहरुलाई आत्मसमर्पण गर्न नमानेपछि माओवादी कार्यकर्ताहरुले घरमा आगो लगाएपछि नौ जनाको गोली हानी हत्या गरे । एक जनाको उपचारको क्रममा मृत्यु भयो । घाईते दुई जना उपचार पछि निको भए । प्रतिकारमा उत्रिएको भन्दै माओवादीले सर्वसाधारणलाई नृशंसतापूर्वक हत्या गरेका थिए । उक्त घटना अघि स्थानीय बासिन्दाले तीन जना माओवादीलाई समातेर प्रहरीलाई बुझाएका थिए । जसको प्रहरीले हत्या गरेको थियो ।

माओवादीको गोली प्रहारबाट ऐमन बुढा, चैते भनिने नरसिङ पुन, बेगम पुन मगरको घरभित्रै मृत्यु भयो । मन बहादुर गिरी तिर्ख गिरीको भाग्ने क्रममा घर बाहिर गोली लागेर मृत्यु भयो । अमृत गिरी, पुष्टे गिरी र कृते भनिने ढाटे पुनको घरभित्रै जलेर मृत्यु भयो । माओवादी आक्रमणमा घाईते भएका गोपाल गिरीको उपचारका क्रममा छ महिनापछि मृत्यु भयो । माओवादीको खुकुरी प्रहारबाट घाइते भएका हस्ते रोकामगर लामो उपचारपछि जोगिए पनि काम गर्नसक्ने अवस्थामा फर्कन सकेनन् ।

१० फागुन ०५६ मा प्रहरीले रुकुमको खारा गाबिसमा १५ जनाको सामुहिक हत्या ग¥यो । रुघाँ गाविस–२ स्थित सिम्रुत प्रहरी चौकीबाट गस्तीमा गएका प्रहरीलाई बिहान साढे ८ बजे खारा गाविस–५ कालढुङ्गामा लुकेर बसेका माओवादीले गोली प्रहार गर्दा प्रहरी जवान गणेश खत्रीको मृत्यु भएपछि आक्रोशित प्रहरी टोलीले सोही ठाँउबाट आगजनी मात्र शुरु गरेन, दिउँसो १२ बजेदेखि ३ बजे सम्ममा खारा–२ राउमारे, खारा–३ कुरल र खारा–५ पोखरीका १५ जना निहत्था निर्दोष सर्वसाधारणलाई  कसैलाई घरबाट निकालेर त कसैलाई जंगलमा गएको अवस्थामा गोली हानी हत्या ग¥यो । त्यस दिन सर्वसाधारणको हत्या बाहेक प्रहरीले सोही गाविसको वडा नं २, ३, ४, ५ र ६ का २७ वटा घर, ३७ वटा गोठ, ३ वटा आँटी र २ वटा पानी घट्ट पनि जलाएको थियो ।

प्रहरीले भद्रवहादुर खड्का, गोविन्द खड्का, खड्क बहादुर खड्का, लक्ष्मी खड्का खारा, प्रबिर खड्का, देवीलाल खड्का, लालबहादुर खड्का, त्रिभान वली, धनबहादुर ओली, लालबहादुर ओली, देउरुप खत्री, गोपाल ओली, टिकाराम खत्री, हेमन्त खत्री खारा, टिकाराम ओलीको हत्या गरेका थिए ।

२०५८ मंसिर १३ गते, तत्कालिन शाही नेपाली सेनाले दाङ जिल्लाको सदरमुकाम घोराही देखि ३ किलोमिटर पूर्व दक्षिणमा पर्ने त्रिभुवननगर नगरपालिका–३ बर्गदी गाउँमा दिउसो ३.०० बजे १५ खलिहानमा धान दाँई गरिरहेका ११ जना किसानहरु खुसीराम चौधरी, आसाराम चौधरी, सीतलाल चौधरी, जोगीराम चौधरी, जगमान चौधरी, प्रसाद चौधरी, कृष्ण चौधरी, सोमलाल चौधरी, रीसमान चौधरी, रामु चौधरी र रुपलाल चौधरीलाई माओवादीको आरोपमा गोली हानी सामुहिक हत्या ग¥यो ।

१७ कार्तिक २०५९ कार्तिकमा बर्दिया जिल्लाको भिम्मापुर गाविसका १४ वर्षीय बालक राजु थारुलाई माओवादीले सुराकी गरेको आरोपमा अपहरण गरे । त्यसको चारदिनपछि धारिलो हतियारले घाँटी रेटेर उनको हत्या गरे । २२ कार्तिकमा कोठीयाघाट–राजापुर जोडने सडक अन्तर्गत पर्ने राजापुर गाविस–२ स्थित बुढीखोला पुलमा फेला परेको बालकको लाश माओवादीका तत्कालीन एरिया इन्चार्ज प्रतिक द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा राजु थारुलाई माओवादी पार्टीले सुराकीको आरोपमा सफाया गरेको उल्लेख गरिएको थियो ।

२६ साउन २०६१ मा माओबादीले दैलेख जिल्लाको नारायण नगरपालिका–१ नयाँ बजार निवासी रेडियो नेपालका दैलेख जिल्ला सम्वाददाता तथा मानवअधिकार तथा शान्ति समाजका जिल्ला सल्लाहकार डेकेन्द्रराज थापाको हत्या गरे ।

माओवादीद्वारा अवरुद्ध गरिएको सदरमुकामको खानेपानी सुचारु गर्ने विषयमा माओवादीसंग छलफल गर्न ९ असार ०६१ असार सदरमुकामबाट तोली गाविस गएका पत्रकार थापालाई फर्कदै गर्दा असार ११ गते केहि वुझनु छ भन्दै माओवादीले अपहरण गरी साउन २६ गते द्वारी गाविस– १ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा हत्या गरे । उनलाई तत्कालीन जनमिलिसिया कमाण्डर कट्टी–६ का बमबहादुर खड्का (मुक्ती। ले हत्या गरेका थिए ।

२९ चैत २०५८ मा बर्दिया जिल्लाको मनाउ गाविस–८ नौरडाका ८ जना निःशस्त्र सर्वसाधारणलाई संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी एकदिनपछि राजापुर गाविसको टेडीया जङ्गलमा हत्या ग¥यो ।सुरक्षाकर्मीहरुले आ–आफ्नो घरमा सुतिरहेका राधेलाल थारु, कमला थारु, मोहन थारु, सोनिराम थारु, धनिराम थारु, चिल्लु थारु, लौटी लौटी थारु प्रेम प्रकाश धारुलाई राति १२ बजे दुश्मन आउने बाटोमा पर्ने कोठियाघाटमा ड्रम पुल फाल्न जाउ कमरेड भनी झुक्याएर नियन्त्रणमा लिई हत्या गरे । सोही दिन सुरक्षाकर्मीहरुले पक्राउ गरेका चैरिचन्दनपुर गाडिसकार गोला गाविसका ३ जनालाई उनीहरुसगै हत्या गरे । विद्यालयमा अध्ययनरत उनीहरुमध्ये अधिकांश १५ देखि १८ बर्ष उमेरका थिए । निशस्त्र उनीहरुलाई मारिएको दोस्रो दिन भिडन्तमा १५ जना आतंककारी मारिएको समाचार रेडियो नेपालमा प्रशारण गरिएको थियो ।

१ पुष २०६० को राती करिव १ बजे बाँकेको महादेवपुरीको बांगेसालमा आफूहरु माओवादी भएको बताउदै सेनाले लखेटीरहेकोले आफ्ना साथीको खोजीमा आएकोले देखाई दिन आग्रह गर्दै गोठमा सुतिरहेकी हितकला डॉगी, जयकली खत्रीलाई लगेर गएका सादा पोशाकका सुरक्षाकर्मीहरुले एक दिनपछि उनीहरुसंगै थप एक जनाको डुम्रेवास खोलामा हत्या गरे । सुरक्षाकर्मीले झिझरी खोलामा नुहाई रहेका महादेपुरी गाविसका सुशील उपनामका शेरजंग शाहलाई समेत लगेर उनीहरुसंगै गोली हानी हत्या गरेका थिए ।

तर रेडियो नेपालको समाचारमा भने महादेवपुरीको जंगल ईलाकामा सुरक्षाफौजसंगको दोहोरो भिडन्तमा ३ जना आतंककारीको मृत्यु भएको समाचार पुष २ गते साँझ प्रशारण गरिएको थियो ।

द्धन्दका १० वर्षमा यस्ता सयौं घटना भए । जुन घटनामा निर्दोष तथा निहत्था नागरिक राज्य र माओवादीद्वारा अनाहकमा मारिए । माओवादीले सुराकी, दुश्मन, सामन्त अनि फरक आस्था राखेको भन्दै नृशंसतापूर्वक हत्या ग¥यो । चन्दा नदिने, खाना नखुवाउने, अभियानमा नहिड्ने बास नदिने सर्वसाधारणहरुको पनि माओवादी सफाया गर्न पछि परेन । कतिपय सर्वसाधारण व्यक्तिगत रिसिईबीको शिकार भए ।

सुरक्षाकर्मीहरुले पनि माओवादीका नाममा विद्यार्थी, शिक्षक, जन्ती, खेत जोतिरहेका र घरमा सुतिरहेकाहरुको हत्या गरे ।

कतिपय स्थानमा सुरक्षाकर्मीहरुले आफ्नो पहिचान बदलेर माओवादीलाई सहयोग गरेको आरोपमा सर्वसाधारणको अमानवीय ढंगले हत्या गरे । माओवादी र सेनाको सनक र प्रतिशोधका शिकार भएका सर्वसाधारणह र उनीहरुको परिवारले शान्ति प्रकृयापछि पनि न्याय पाउन सकेनन । शक्तिको आडमा निहत्था तथा निर्दोषमाथि ज्यादती गर्ने सुरक्षाकर्मी र माओवादी कसैमाथि कारवाही हुन सकेन । जसका कारण दण्डहिनता मौलायो ।

माओवादीले जनयुद्धका नाममा सशस्त्र संघर्ष शुरु गरेको २०५२ फागन १ गतेदेखि बिस्तृत शान्ति सम्झौता भएसम्म २०६२ मंसिरसम्ममा देशभरी दुवै पक्षबाट झण्डै १५ हजार मारिएको अनुमान छ । यो अवधिमा राज्य पक्षबाट ८ हजार ३१० र माओवादी पक्षबाट ४ हजार ५८९ गरी १२ हजार ८९९ को हत्या भएको इंन्सेकको तथ्यांकमा समेत उल्लेख गरिएको छ ।

यो अवधिमा मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा ४ हजार १९७ जनाको हत्या भयो । राज्यपक्षबाट ३ हजार १८८ मारिए । सबैभन्दा बढि रोल्पामा ५८० जनाको हत्या गरेको राज्य पक्षले डोल्पामा ३६ जनाको हत्या ग¥यो । यही अवधिमा माओवादी पक्षबाट ८८६ जनाको हत्या भयो । माओवादीबाट सबैभन्दा बढि दाङमा १२९ को हत्या भयो भने सबैभन्दा कम हुम्लामा ९ जनाको हत्या भयो । अज्ञात समूहद्वारा १२३ जनाको हत्या भएको यो अवधिमा रोल्पामा मात्र ५८ जना मारिए । द्धन्दको १० वर्षमा राज्य र माओवादी दुबै पक्षवाट ५८२ जना वेपत्ता पारिएको मध्यपश्चिममा राज्यबाट ५१० र माओवादीबाट ७२ जना बेपत्ता पारिए । यो अवधिमा बर्दियामा सबैभन्दा बढि १५६ जना राज्य पक्षबाट बेपत्ता पारिए भने माओवादीबाट बर्दियामा १६ जना बेपत्ता भए ।

यही अवधिमा सुदूरपश्चिममा राज्यबाट ९३२ र माओवादीबाट ६३५ जना गरी एक हजार ६५८ जनाको हत्या भयो । अज्ञात समूहले ९० जनाको हत्या गरेको यो अवधिमा राज्य र माओवादीबाट १०१ जना बेपत्ता पारिए ।
द्धन्द पीडितहरुले अव त न्यायको आस मारिसके । कतिपयले क्षतिपूर्ति र राहत पाएपनि धेरैले त त्यो पनि पाएनन । दोषीमाथि कारबाही त टाढाको कुरा ।

आयोगले नागरिकलाई आफ्नो कब्जामा लिन सकिने अवस्थामा कुनै गल्ती गरेको रहेछ भने पनि कानूनको उचित प्रकृया वमोजिम कारवाही गर्नुपर्नेमा गैर न्यायिक हत्या भएको अनुसन्धान प्रतिवेदनबाट देखिएको उल्लेख छ ।

सुरक्षाफौजले डोटीको छेडामा गोली हानी हत्या गरेका ५ जनाका परिवारलाई जनही ३ लाख रुपैया क्षतिपूर्ति, मटेलीलाई एक लाख रुपैया, घाईतेको उपचार र मृतकहरुका नाबालक छोराछोरीको निशुल्क शिक्षाको व्यवस्था मिलाउन आयोगले सिफारिस गरेको थियो ।

खडक बहादुर बोहराका परिवारलाई २ लाख ५० हजार रुपैया र मृतकका नाबालाक छोराछोरीलाई निशुल्क शिक्षाको व्यवस्था र दोषी सुरक्षाकर्मीमाथी कारबाही गर्न पनि आयोगले सिफारिस गरेको थियो । तर दोषी कसैलाई कारबाही भएन ।

बैतडीको लिस्किटाका पाण्डेको हत्यामा संलग्न सुरक्षाकर्मीहरुमाथि फौजदारी अभियोगमा कारबाही गरी मृतकका परिवारलाई तीन लाख रुपैया क्षतिपूर्ति दिन र उनका नाबालक छोराछोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्न समेत आयोगले सिफारिस गरेको थियो ।

माओवादीका नाममा मारिएका बर्दियाको मानपुर टपराका जनमोर्चाका कार्यकर्ता भोजबहादुर र टोप बहादुर निर्दोष रहेको बताउदै सेनाले घटनामा संलग्न दोषी सेनालाई कारबाही गरेको बताए पनि कस्तो किसिमको कारबाही गरियो त्यो भने खुलाएन ।

अधिकारकर्मीहरु तत्काल सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी द्वन्द्वको समयका दोषीहरुलाई दण्ड र पीडितलाई न्याय प्रदान गर्नुपर्ने बताउछन ।

प्रतिक्षा न्यायको

जाजरकोट दह गाबिसमा सुरक्षाकर्मीहरुद्वारा जन्तिहरुको बर्बरतापूर्वक हत्या गरिएको घटना सरकारले बिर्सेको छ । तर त्यो घटनामा मारिएकाहरु आफन्त र परिवारजन त्यो पीडा कहिल्यै बिर्सिने छैनन ।

मृतक रण बहादुर घर्तीकी पत्नी तिर्था पुन जन्ती गएका आफ्ना निर्दोष पतिको हत्या गर्ने सुरक्षाकर्मीलाई कारबाही हुने र आफूलाई न्याय मिल्ने आशा थियो । तर न्याय पाईनन । पतिको हत्या पछि परिवार पाल्न नसकेर उनले हर्क बहादुर रोकासंग विबाह गरिन ।

मृतक वहादुर घर्तीकी पत्नी देउरुपा घर्ती जन्तीहरुसंगै प्रहरीले पक्राउ गरेर लैजान थालेका पतिलाई अंगालो हालेर रोक्ने प्रयास गरिन । प्रहरीले कुन्दाले हानेर देउरुपाबाट छुटाएर लगेका बहादुरको हत्या गरे । राप्रपाका समर्थक रहेका आफ्ना पतिलाई माओबादीको आरोपमा हत्या गरेपछि परिवारको विचल्ली भएको बताउने देउरुपा हत्यारालाई कारबाही होस भन्ने चाहन्थिन । उनीसंगै मृतक गोर्ख वहादुर घर्तीका छोरा अमर पनि हत्यारालाई कारवाही होस भन्ने चाहन्थिन । उनले पनि न्याय पाईनन ।

कालीकोट कोटबाडामा सुरक्षाकर्मीहरुद्वारा मारिएका ३५ जना मजदुर माओवादी नभएको त्यति पुष्टि भईसकेको थियो । तर सरकारले न पीडित परिवारलाई उचित क्षतिपूर्ति दियो । न दोषी सुरक्षाकर्मीमाथि कारबाही ग¥यो ।

घट्नाका प्रत्यक्षदर्शी कोटवाडा–१ का ५१ वर्षीय जंगे बिष्टले हत्या गरिएका सर्वसाधारणहरुलाई गाड्न सेनाले उर्दी जारी गरेपछि स्थानीय बासिन्दाले खाल्डो खनेर गाडेको बताएका थिए ।

गोर्ख बहादुर कठायतको हत्यापछि उनको परिवारको बिचल्ली भयो । न परिवारले क्षतिपूर्ति पायो, न त न्याय । न दोषीमाथि कारबाही भयो ।

मृतक गंगा बहादुर विष्टकी आमा ५१ वर्षीय पुष्पा विष्टले घर फर्कदै गरेको छोरालाई सुरक्षाकर्मीले आफ्नै आँखा अगाडि गोली हानेर मारेको देखेपनि आफूलाई पनि मार्लान भन्ने डरले केही बोल्न नसकेको बताएकी थिईन । उनले भनिन्, पछि उनीहरुले सोधपुछ गर्नुछ भनेर बुद्धिसिंह विष्ट, गणेश बहादुर विष्ट र मलाई हेलिकप्टरमा हालेर सदरमुकाम लगे । १५ दिनपछि केही नभनी छोडिदिए ।

मृतक लहविरे कठायतका १६ वर्षीय छोरा रामबहादुर कठायतले घरभित्र रहेका बुवालाई सोधपुछ गर्नुछ भनेर लगेर सेनाले मारेको बताए ।

बुवाको मृत्युको पीडाले दुई वर्षपछि आमाको पनि मृत्यु भयो । माओवादीको धम्कीका कारण दुई वर्षसम्म विस्थापित बुवालाई माओवादीकै आरोपमा सेनाले मा¥यो । उनी भन्छन्, मेरा निर्दोष बुवालाई मार्ने सुरक्षाकर्मीहरुमाथि कानूनअनुसार कारबाही गरेर हामीलाई अतिपूर्ती दिएमा मात्र हामीले न्याय पाएको महसुस गर्नेछौं ।

कालिकोट कोडवाडाका निमित्त प्रमुख जिल्ला अधिकारी ओमकारप्रसाद न्यौपानेले सरकारले कोटवाडा घटनाको पीडितलाई राहत दिने घोषणा गरेपनि अहिलेसम्म आधिकारिक रुपमा कुनै जानकारी नआएको बताएको ईन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

कोटवाडामा मारिएकाहरुलाई नेकपा माओवादीले शहिद घोषणा गरेपनि माओवादीकै अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेका बेला पनि मृतकका परिवारलाई सरकारले सम्झेन । दोषीमाथि कारबाही त टाढाको कुरा । उचित क्षतिपुर्ति र राहत पाएनन ।

रोल्पा हार्जडमा माओवादीद्धारा सामुहिक रुपमा हत्या गरिएका मध्ये मृतक गोपाल गिरीको पत्नी हाइमाली गिरी त्यो घटना सम्झेर भक्कानिएर रुने गर्थिन । उक्त घटनापछि माओवादीको अपहरणमा परेर फुत्किन सफल भएको उनको जेठो छोरा दिपक गिरी डरले धेरै वर्षसम्म घर फर्केन ।

मृतक तिखुं गिरीको परिवार अभिभावक मारिएपछि विचल्लीमा परेको छ । उनका छोरा दुजे गिरी बुवाको हत्यापछि आफूले विद्यालय छोड्नु परेको र मजदुरी गर्न एक दाई काठमाडौमा अर्को दाई भारतको कालापहाड गएको बताउछन ।

उक्त घटनाको त्रास अहिले पनि गाँउमा यथावत छ । विदेश गएर चन्दा नदिएको आरोपमा माओवादीले कब्जा गरेको हार्जङ–२ का गमबहादुर पुन र जुद्धवीर रोकाको घर जग्गा फिर्ता गरेका छैन् ।

रुकुमको खारामा माओवादीका नाममा प्रहरीद्वारा मारिएकाहरुका परिवार पनि न्यायको पखाईमा छन् । मृतक भद्रबहादुर खडकाकी पत्नी पार्वती खडकाले गोठालो गएका पतिको हत्या र दुई वटा घर जलाएको क्षतिपूर्ति सरकारले एक लाख रुपैया दिएको असन्तुष्टी व्यक्त गरिन । उनले भनिन्, एकलाखले मान्छे मार्न पाईन्छ भने त म मेरा लोग्नेको हत्यारालाई मारेर जग्गा जमीन बेचेर भएपनि एकलाख दिन सक्छु ।

मृतक लालबहादुर खडकाकी आमा पपर्ती खडकाले छोरा लाल बहादुर र स्थानीय देवीलाललाई गहुँबारीमा लगेर आंखा अगाडि हत्या गरेको सुनाइन ।

मृतक खड्कबहादुरकी पत्नी चन्द्रकली खड्का र मृतक गोविन्दको पत्नी भीउसरी खडका स्थानीय हामफाल खोलामा काठ चिनं गएका पतिहरुको हत्या गरेको बताउदै भन्छिन्, प्रहरीले एकातिर जिउने सहारा खोसिदियो, अर्कोतिर बस्ने घर जलाईदियो ।

हामीलाई जस्तो विपत्ती त कसैलाई छैन होला । उनले भनिन्, हाम्रो यस्तो दशा बनाउने प्रहरी ज्यूँदो रहेछ भने एक पटक हाम्रो अवस्था हेर्न ल्याई दिए हुन्थ्यो ।

मृतक प्रविर खड्काकी पत्नी पवित्रा खड्का पाँच महिनाकी छोरी समातेर घरमै बसेका पति प्रविरलाई छोरीलाई भुईमा पछारेर बन्चरोको विंडले दुवै खुट्टा भाँचेर प्रहरीले घिसार्दै गहु बारीमा लगेर गोली हानी हत्या गरेको बताउछिन । निर्दोष अनि निहत्था नागरिकको हत्या गरिएको यो घटनाको समाचार भने दोहोरो भिडन्तमा माओवादी मारिएको भनी प्रसारण गरेर प्रचार गरिएको थियो ।

उक्त घटनाका जिम्मेवार प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल, जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी धिरु बस्नेत, प्रहरी निरिक्षक बेलबहादुर पाँडे र प्रहरी सहायक निरिक्षक शम्भु सुवेदी मध्ये कसैलाई कारबाही भएन ।

२१ फागुन ०५६ फागुनमा घटनाको स्थिति अनुगमन गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा एक टोली खारा पुग्नु अगावै त्यहाँ प्रहरी पुगेर सबै गाँउलेहरुलाई आज फेरी खारामा लडाई हुँदैछ तिमीहरु सबै जंगलतिर भाग नत्र सबैको एकै चिहान हुन्छ भनेर सम्पूर्ण गाँउलेहरुलाई जंगलमा लखेटेर गृह सचिवलाई रित्तो गाँउमा घुमाई फर्काइएको स्थानीय बासिन्दाहरु बताउछन् ।

बाँके बागेसालमा सुरक्षाकर्मीहरुद्वारा मारिएकी मृतक हितकला डाँगीका पति धनबहादुर डाँगीले निर्दोष आफ्नी पत्नीलाई सुरक्षाकर्मीले झुक्याएर लगी बलत्कार गरी हत्या गरेको वताए ।

बर्दियाको मनाउमा सुरक्षाकर्मीहरुले ८ जना युवाको क्रूरतापूर्वक गरिएको हत्याको घटना अहिले पनि तीनका परिवारजनले विर्सन सकेका छैनन । मृतक राधुलाल थारुका बुवा पदम थारु मध्यराति सयौको संख्यामा आएका सुरक्षाकर्मीले ढोका खोल्न लगाई शत्रु आउने बाटो कोठियाघाटको पुल तोड्न भनेर  लगेर गएका ८ जना स्थानीय युवकलाई एक दिनपछि गोली हानेर हत्या गरेको बताउछन ।

कुनै पार्टीमा नलागेकी आफ्नी छोरीको कमलाको हत्या भएको कुरा विश्वास गर्न नसकेका कारण तुल्सीराम चौधरीले काजक्रिया नै गरेनन ।

उनीहरु सुरक्षाफौजसंग दोहोरो भिडन्तमा मारिएको पत्र आइसीआरसीले परिवारलाई बुझाउन खोज्दा स्थानीय वासिन्दाले जसले लगेर गएको थियो उसैले पत्र बुझाउन आउनु प¥यो भनेर पत्र पनि बुझेनन ।

मृतकका परिवारजनलाई मनाउ गाविसमा सर्चको क्रममा सेनासँगको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको भनि ०६३ सालमा प्रकाशित वामनप्रसाद न्यौपानेको प्रतिवेदन र आइ.सी. आर. सी को पत्र मार्फत जानकारी गराईएको थियो ।

राहत र क्षतिपुर्तीका लागि आन्दोलन गर्न पीडित परिवारहरु काठमाण्डौसम्म पुगेपनि कनै सुनुवाई नभएको गुनासो गर्छन ।

द्वन्कालमा बाँके बर्दियामा सेनाद्धारा भएका अधिकांश गैर न्यायिक हत्या र ज्यादतीपूर्ण घटनामा तत्कालिन मेजर अजित थापा र क्याप्टेन रमेश स्वॉरको संलग्नता रहेको थियो । सर्वसाधारण वेपत्ता पार्ने, मार्ने र बलत्कार गर्ने घटनामा थापा र स्वॉरको प्रत्यक्ष संलग्नता रहेको एक मानवअधिकारकर्मी बताउछन् ।

कैलालीको धनगढीमा भएका अमानवीय तथा ज्यादतीपूर्ण घटनामा कालीदल गुल्म धनगढीका प्रमुख मेजर छेतेन लोप्चेनको संलग्नता रहेको थियो । उनले माओवादीलाई सहयोग गरेको भन्दै व्यापारी, पत्रकार, महिलालाई निकै दुःख दिए । जन आन्दोलनकारीमाथि निकै ज्यादती र दमन गरेका मेजर लोप्चेनको धनगढी–७ देबहरियामा नेपाली कांग्रेसका कार्यकर्ता चक्रराज जोशीलाई घरबाट छोपेर माओवादीका नाममा नशसता पूर्वक मार्ने कार्यमा समेत संलग्नता रहेको बताईन्छ । जोशी माओबादी कार्यकतां नै भएको पुष्टी गरेर उनको हत्यालाई न्यायिक बनाउने प्रयत्न गरेको सेनाले स्थानीय बासिन्दाको चर्को दबावपछि गल्ती स्वीकार गरेपनि घटनामा संलग्न सुरक्षाकर्मीलाई भने कारवाही गरेन । जोशीलाई २१ जना शहिद अन्तर्गत राखिएको छ ।

यो अवधिमा माओवादीवाट पनि कम्ति ज्यादती र गैर न्यायिक हत्या भएन । माओवादीका थारु समुदायका कमाण्डर रहेका ठाँउमा पहाडी समुदायका सर्वसाधारण ठूलो सख्यामा निर्ममता पूर्वक मारिए । लुटिए । कुटिए । लखेटिए । माओवादी भित्रै पनि यस्को चर्चा नचलेको होईन । तर ती र त्यस्ता घटनामा संलग्न दोषी कार्यकर्ता र कमाण्डरलाई कारबाही गर्न भने माओवादीले पनि चासो देखाएन । दुवै पक्षबाट अपराध गर्नेहरु दण्डित नभएर पुरस्कृत भए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जले २०६५ जेठमा मध्यपश्चिमका नौ वटा जिल्लामा द्वन्दका समयमा भएका मानवअधिकार उल्लंघनका नौ वटा गम्भिर घटनाको अध्ययन गरेको थियो । जसमध्ये ६ वटा घटनामा राज्य पक्ष र तीन वटा घटनामा राज्य पक्ष दोषी रहेको ईन्सेकको ठहर छ ।

ती घटनाका पिडितहरुले अहिलेसम्म पनि न्याय पाएका छैनन । उनीहरुको परिवारको विचल्ली भएको छ ।
अत्यन्त क्रूरतापूर्वक राज्य र माओवादी पक्षबाट भएका यी घटनाका पिडितहरु अहिलेसम्म न्यायको पर्खाईमा छन् । उनीहरुको आर्थिक अवस्था निकै दयनिय छ । तर राहत भन्दा वढि उनीहरु दोषीमाथि कारबाही भएको हेर्न चाहन्छन् ।

राज्यको उदासिनताका कारण पिडितहरु थप पिडित भए । दोषीहरुले भने उन्मुक्ति पाए ।

राज्यले कमजोरी स्वीकार गरेका घटनामा पनि दोषी सुरक्षाकर्मीमाथि अहिलेसम्म कारवाही गरेको छैनन, जोशी भन्छन्, यो दण्डहीनताको पराकाष्ठा हो । द्वन्द्वका बेला निर्दोष नागरिकको हत्यामा संलग्न माओवादी कार्यकर्ता र सुरक्षाकर्मीमाथि कारबाही नगरी पिडितलाई क्षतिपूर्ति दिएर मात्र न्याय भएको मान्न सकिदैन ।

विसं २०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन विद्रोही माओवादी पक्षबीच भएको बृहत् शान्ति सम्झौतामा ६ महिनाभित्र सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउने भनिएको थियो । तर वर्षौँ बितिसक्दा पनि सङ्क्रमणकालीन मुद्दासम्बन्धी मामिला टुङ्गिन सकेको छैन ।

दश वर्षे माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरेको बृहत शान्ति सम्झौता र २०६३ सालको नेपालको अन्तरिम संविधान अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन गरिएको थिए । पहिलो पटक यी आयोगहरू २०७१ साल माघ २८ गते गठन भएका थिए । तर यी आयोगहरु प्रभावकारी हुन सकेनन ।

सङ्क्रमणकालीन न्यायको कार्य सम्पन्न गर्ने र पीडितको न्यायको अधिकार सुनिश्चित गर्ने कुरामा सरकार उदासिन देखिन्छ ।

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार र नागरिकका मौलिक हकको रक्षाका लागि सरकारका तर्फबाट जति नै प्रतिबद्धता व्यक्त गरेपनि द्धन्दकालीन घट्नाका पीडितलाई न्याय नदिई गरिने त्यस्ता प्रतिबद्धताको कुनै अर्थ छैन ।

द्धन्दका १० वर्षमा द्धन्दरत पक्ष मात्र मारिएका थिएनन । जसको युद्धमा कुनै संलग्नता थिएन, जो निशस्त्र थिए, त्यस्ता हजारौ निर्दोष मान्छेहरु पनि युद्धको शिकार भए । त्यो अबधिमा सुरक्षाफौजद्धारा हजारौं सर्वसाधारण आतंकारीका रुपमा मारिए । बेपत्ता पारिए । र, माओवादीद्धारा पनि हजारौं सर्वसाधारण सुराकी र असहयोग गरेका नाममा मारिए । बेपत्ता पारिए । द्धन्दसंग कुनै सम्बन्ध नभएका निशस्त्र मान्छेहरु सनक, लहड, रिसिईवी र तक्मा पाउनका लागि मार्नेहरु जुनसुकै पक्षका हुन्, ती युद्ध अपराधी हुन् ।

द्धन्दकालीन घट्नाहरुलाई एउटै डालोमा हालेर त्यस्ता अपराधीहरुलाई उन्मुक्ति दिनु दुर्भाग्यपूर्ण हुनेछ ।

(शान्ति सम्झौता भएको आज १८ वर्ष भयो । शान्ति प्रकृयापछि द्धन्दमा मारिएका सर्वसाधारणका परिवारसंग गरिएको कुराकानी र अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक), राष्ट्रिय मानवअधिकार आयोग र सरकारद्धारा बिभिन्न समयमा प्रकाशित प्रतिबेदनका आधारमा तयार गरिएको रिपोर्ट । द्धन्दको अबधिको रिपोर्ट भएकोले घट्नामा उल्लेख गरिएका स्थानहरु (तत्कालिन गाउ विकास समिति ) जस्ताको त्यस्तै राखिएका हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Sexuality education is quietly ignored in Kailali schools

१७ असार २०८२ १३:२१

खोज्नुहोस