ह्यारिससँगै हारेको समानता र अधिकारको लडाइँ

संयुक्त राज्य अमेरिकाको पछिल्लो निर्वाचनलाई उक्त देशभित्र मात्र होइन, सिंगो विश्वबाट नै महत्त्वका साथ हेरिएको थियो । राष्ट्रपतीय प्रणाली भएको विश्वको प्रथम शक्तिराष्ट्रमा नयाँ राष्ट्रपतिको पृष्ठभूमि, एजेन्डा, दृष्टिकोण र अन्य विशेषता वा क्षमताले अमेरिकाको आन्तरिक मात्र नभएर विश्व मामलामा नै प्रभाव पार्ने भएकाले सधैंझैं त्यहाँको राष्ट्रपतिको निर्वाचनमा विश्वको ध्यान केन्द्रित हुने सामान्य हो ।
प्रतिस्पर्धामा उत्रिने थुप्रै उम्मेदवार भए पनि अमेरिकी राजनीति द्विदलीय प्रणाली जस्तै छ । त्यहाँ डेमोक्रेटिक र रिपब्लिकन दलका उम्मेदवारबीच नै प्रतिस्पर्धा र जितहार हुने भएकाले यी दलका उम्मेदवारकै चर्चा, विश्लेषण र पक्षविपक्षमा परिणाम अनुमान गरिन्छ । यस पटक लोकरिझ्याइँको हतियार बोकेका, राज्य संयन्त्रलाई नै चुनौती दिने, वर्चस्वशाली गोरा समूहको पहिचान भएका, विश्वशान्तिको कुरा गर्ने तर अशान्ति सिर्जना गर्न उद्यत देखिएका, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एकातिर थिए । अर्कोतिर कालाजाति र एसियाली मूलकी महिला, बहालवाला उपराष्ट्रपति, अमेरिका र विश्वलाई ट्रम्पभन्दा फरक ढंगले लैजाने सोच राख्ने कमला ह्यारिसको उम्मेदवारी भएका कारण यो प्रतिस्पर्धाले थप चाख जगाएको थियो । सन् २०१६ मा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजय गरी राष्ट्रपति बनेका रिपब्लिकन उम्मेदवार ट्रम्प सन् २०२० मा जो बाइडेनसँग पराजय भएका थिए । यस पटक भने कमला ह्यारिसलाई पराजय गरी राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । रिपब्लिकनबाट तीन–तीन पटक उम्मेदवार बन्ने अवसर पाएका ट्रम्पसँग किन एकै दलका दुई महिलाहरूले एक कार्यकालको अन्तरालमा पराजय भोगे तर पुरुष अर्थात् वर्तमान राष्ट्रपति बाइडेन विजय भए, यो यक्ष प्रश्न बनेको छ । विश्वलाई समानता, सहभागिता र समावेशिताको पाठ पढाउने पश्चिमाहरूको नेतृत्वकर्ता मानिएको अमेरिकामा यति लामो लोकतान्त्रिक इतिहासमा एउटै महिला राष्ट्रपति बन्न किन सकेन भन्ने विषय अहिले चर्चाको केन्द्रमा छ । यही सेरोफेरोमा रहेर यो आलेख तयार गरिएको छ ।
अहिलेसम्मको महिला प्रत्याशी वा इच्छुक उम्मेदवारहरूको रेकर्ड हेर्दा के देखिन्छ भने सयौं महिला उम्मेदवारहरू दलहरूभित्रै प्राइमरी प्रतिस्पर्धामा अवसर प्राप्त गरे पनि केही दर्जन महिलाहरूले मात्र राष्ट्रपतिको उम्मेदवारमा प्रतिस्पर्धामा उत्रिने अवसर पाए । यस्तो अवसर पाउनेमध्ये अधिकांश साना दलहरूबाट आए, जुन दलका लागि राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गराउनुको उद्देश्य दलको राजनीतिक अस्तित्व जोगाउन र जगाउन रीत पूरा गर्ने मात्र रह्यो न कि राष्ट्रपति बन्न र बनाउन । किनभने स्पष्ट बहुमत नपाई राष्ट्रपति चुनिन नसक्ने प्रावधानका कारण इलेक्ट्रोरल कलेजका निर्वाचितहरूबीच दोस्रो पटक मतदान गरेर जानुपर्ने बाध्यताका बीच छानिने भनेको अहिलेसम्मको अवस्थामा डेमोक्रेटिक र रिपब्लिकन दुई ठूला दलहरूबीचबाट मात्र हो र यस्ता उम्मेदवार दलबाटै पनि चुनिएर आउनुपर्ने हुन्छ । पछिल्लो पटक प्राइमरीदेखिको छनोट प्रक्रिया पार गर्दै २०१६ मा हिलारी क्लिन्टन डेमोक्रेटिक उम्मेदवार बन्ने अवसर पाएकी हुन् । तर कमला ह्यारिस भने यो दौडबाट गुज्रिनुपरेन, प्राइमरीमार्फत आउन परेको भए सायद उनलाई उम्मेदवार बन्न नै कठिन हुन सक्थ्यो भन्ने कुरा उनले उनकी अग्रज हिलारीभन्दा अत्यधिक अन्तरले लोकप्रिय मत र इलेक्ट्रोरल कलेजमा हार बेहोरेबाटै आशंका गर्न सकिन्छ ।
अब राज्यका तीनै अंगहरू– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका– राष्ट्रपति, सिनेट र प्रतिनिधिसभा रिपब्लिकन पार्टीको कब्जामा पुग्ने परिस्थिति बनेको छ । यससँगै अमेरिकी राजनीतिक प्रणालीकै विशेषता बनेको शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्त नै संकटमा पर्ने देखिन्छ । अर्को शब्दमा भन्दा, खासै राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिको कमान्डमा उक्त दल र अमेरिका मात्र पुगेको नभई, कसैले रुचाए पनि नरुचाए पनि, ट्रम्प अहिले विश्वको राजनीतिक चरित्र र नेतृत्वका रूपमा स्थापित हुन पुगेको देखिन्छ ।
विगत २४८ वर्षदेखि राष्ट्रपति प्रणालीको अभ्यास गरेको भनिएको अमेरिकामा १०५ वर्ष त महिलालाई मताधिकार नै दिइएको थिएन । अश्वेतलगायत सबैखाले महिलाले मतदानको अधिकार पाएको ५९ वर्ष मात्र पुगेको छ । विश्व राजनीतिको इतिहास हेर्दा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये एक तिहाइ देशले महिला सरकार प्रमुख पाइसकेका र अहिले पनि १३ राष्ट्रका सरकारप्रमुख महिला नै छन् । तर अमेरिकामा यो अवसरबाट महिलालाई अरू पछि धकेलिएको देखिन्छ ।
अहिले पनि अन्य पश्चिमा राष्ट्रहरूभन्दा राजनीतिमा अमेरिकी मनोविज्ञान संकीर्ण र संकुचित मात्र होइन, थुप्रै विकासोन्मुख र पिछडिएका भनिएका राष्ट्रहरूका भन्दा पनि पछाडि देखिएको छ । पितृसत्ता विश्वकै चरित्र भए पनि महिला अधिकार र सहभागिताका विषयमा विश्व अघि बढिरहेको आजको दिनमा अमेरिकामा भने महिलाले आफ्नो सुरक्षा आफैं गर्न सक्दैनन् र यो विश्व व्यवस्थामा राष्ट्रहरूमा शान्ति र सुरक्षा पुरुषबाट मात्र सम्भव छ भन्ने मान्यतामा विश्वास गरेको देखिन्छ । ‘अमेरिकाको सिमानामा पर्खाल लगाउने, युक्रेनलाई नेटो सदस्यको अपेक्षाबाट पछि हट्न लगाउने, पुटिनसँग वार्ता गरेर २४ घण्टामा रुस–युक्रेन युद्ध रोकिने, इजरायल–प्यालेस्टाइनमा शान्ति ल्याउने र यी काम महिला राष्ट्रपतिबाट असम्भव छ, कमलालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सीले कति पनि नगन्ने र पुतली जस्तै प्रयोग गर्नेछन्’ भन्नेजस्ता तर्कमार्फत ट्रमद्वारा निर्वाचन अभियानका बेला फैलाइएका हौवाले अमेरिकी मतदाता प्रभावित भएको उनले पाएको मतबाट प्रस्ट हुन्छ ।
शान्तिप्रति विश्वास हुनु र अमेरिका नेतृत्व विश्व शान्ति स्थापनाको नीतिमा पनि लाग्नुपर्छ भनेर मत जाहेर गर्नु सही भए पनि आफैंमा अति असहिष्णु, अशान्त, आक्रामक, असन्तुलित र अस्थिर व्यक्तिबाट सारभूत शान्ति सम्भव हुने विश्वास गरेर शान्तिका पक्षमा फरक ढंग र सोचका साथ काम गर्ने प्रतिबद्धता रहेकी प्रतिबद्ध अमेरिकी महिला उम्मेदवारलाई विश्वास गर्न नसकेबाट यो प्रमाणित हुन्छ । अहिले पनि अमेरिकी मतदाताको मनोविज्ञान हेर्दा अत्यधिक व्यक्तिवादी, आत्मकेन्द्रित, उपभोक्तावादी, नश्लीय, लैंगिक हिसाबले पनि विभेदकारीकै बाहुल्यता रहेको देखियो । शिक्षा, स्वास्थ्य, पर्यावरण, आप्रवासन, सुरक्षा, नागरिक/महिला अधिकार, सीमाजस्ता विषयमा दिगो समाधान र स्थायी विश्व शान्तिको बुझाइ र बाटोबारे प्रस्टता वा समर्थन देखिएन भन्न सकिन्छ ।
अमेरिका फस्ट र अमेरिकी उत्पादनको प्रयोगको कुरा राष्ट्रिय पहिचान र समृद्धिका हिसाबले ठीक होला । तर, विश्वमा अमेरिका खुम्चिँदै जाने, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय संगठनहरूका कामकारबाहीमा उदासीन र गैरजिम्मेवार हुँदा, नेतृत्वको खोजी हुने कुरा राम्रो होइन भन्दै अमेरिकाले अमेरिकाको मात्र कुरा गर्यो भने नेतृत्वका लागि उत्पन्न हुने रिक्त ठाउँ अरू शक्तिका लागि अवसर बन्नेछ भन्ने मान्यताले त्यहाँ खासै स्थान पाएन । साथै, प्रतिस्पर्धी राष्ट्रबीच अघोषित ‘ट्रेडवार’ भएको अघिल्लो ट्रम्प कार्यकाल पनि भविष्यका लागि पाठ बनेको देखिएन । यो अवस्था कमजोर र विकासशील तथा विकासोन्मुख राष्ट्रका लागि ‘जुन जोगी आए पनि कान चिरेको’ सावित भए पनि अमेरिकी दबदबाबाट आजित राष्ट्रहरूले विकल्प पाए पनि भन्न सकिएला– जुन तिनका लागि सही वा अरू खराब जे पनि हुन सक्छ, तर स्वयं अमेरिकी जनताका लागि भने सुखद पक्ष कदापि थिएन ।
अहिले विश्वका चर्चित नेताहरू अमेरिकी निर्वाचनमा ट्रमको समर्थन मात्र होइन, उनको पुनरागमनपछि थप हौसिनुको प्रमुख कारण यही हो । आर्थिक समृद्धिको परिभाषा, सामाजिक न्यायका मुद्दा, महिला अधिकार र प्रजनन स्वास्थ्यका प्रारम्भिक विषय, बन्दुकको अधिकारका कारण नागरिकबाटै नागरिकको सुरक्षा सुनिश्चित गर्ने जस्ता विषय राष्ट्रपति चुनावका अनुमोदित एजेन्डा नबन्ने अवस्था झन् उदेकलाग्दो थियो । ट्रमका राजनीतिक र कमलाविरुद्धका प्रोपागान्डा हुन् वा सांघातिक आक्रमणका नाममा ट्रम्पले बटुलेका सहानुभूतिको मत प्रकट गर्ने अमेरिकीहरूले ‘सबैको नेतृत्व’ गर्छु भन्ने कमलालाई नचुनेका मात्र होइनन्, आफ्नो चुनावी सभामा ‘बेश्या’ जस्ता स्तरहीन र चरित्रहत्या गर्ने खालका आरोप लगाउन समर्थकलाई उस्काउने र कमलाविरुद्धका यस्ता अपशब्दवाण सुनेर मुस्कुराउँदै आनन्द लिने कदमको प्रतिवाद गरेनन् । बरु, मासमा मजाले हुटिङ गर्ने कामसम्म भयो र त्यसमा महिला–पुरुष दुवै देखिए । नेपालमा अनुभव गरिएको छद्म नाममा सामाजिक सन्जाल प्रयोग गरी विचार नमिल्नेमाथि तुच्छ गालीगलौजमा उत्रिने व्यक्ति/समूहभन्दा पनि तल्लो स्तर अमेरिकामा देखियो । भनिन्छ, महिलाको क्षमताबाट असुरक्षित बन्ने र हीनताबोध गर्नेले महिलालाई होच्याएर छायामा पार्ने हतियारका रूपमा चरित्रमा प्रश्न उठाउने वा आक्षेप लगाउने परम्परा पिछडिएको समाजको चरित्र हो । त्यस मानेमा अमेरिका यस पटक अरू अगाडि देखियो ।
सारमा भन्दा बाइडेन सरकारका कमजोरी र असफलताले निम्त्याएको सम्पूर्ण नकारात्मक परिणामको जवाफदेहिता उपराष्ट्रपतिको हैसियतले उनीसँग खोज्नु सामान्य भए पनि आफू निर्वाचित भएमा गर्ने भनेका उनका नयाँ एजेन्डामा विश्वास नगरी प्रतिशोध पोखिनुलाई सही मान्न सकिँदैन । यसबाट उनको व्यक्तिगत–पेसागत क्षमता, पहिचान र पृष्ठभूमि साथै उनले आफ्नो कार्यकालमा गर्ने भनी जाहेर गरेका प्रतिबद्धतालाई मान्न नचाहेको देखिन्छ । कमलाले प्रतिनिधित्व गर्ने महिला, काला, एसियन, युवा र अन्य सीमान्तीकृतले पनि उनलाई बुझ्न खोजेनन् वा रोजेनन् ।
सारांश
त्यसैले कमलाको हार एक देशको राष्ट्र/सरकार प्रमुखमा महिला प्रत्याशीको हार मात्र हैन । विश्वको एक नम्बर शक्तिशाली व्यक्तिका रूपमा महिला स्वीकार्य नहुनु पनि हो । पितृसत्ताले जकडिएको विश्वमा पहिलो विश्वशक्तिको नेतृत्वमा महिला पुग्न सक्दा त्यसले विश्व समाजमा सकारात्मक सन्देश सञ्चार हुने, त्यसबाट मिल्ने प्रेरणा र उत्साहको लहर ल्याउने र त्यो सकारात्मक रूपान्तरणमा संवाहक हुन सक्थ्यो, यस्तो रूपान्तरणको नेतृत्वको जस पनि अमेरिकालाई जान्थ्यो । अमेरिकामा ट्रम्पको पुनरागमनसँगै समानता, न्याय र अधिकारको लडाइँ लड्ने ठूलो समुदाय फेरि एक पटक हारेको छ । ठूला शक्तिराष्ट्रहरूमध्ये लोकतन्त्रको हिमायती ठान्ने अमेरिकामै सरकारको नेतृत्वमा पटक–पटक महिला प्रत्याशी अस्वीकार्य भएपछि केन्द्रीयतामा आधारित शासन भएका रुस र चीन जस्ता र अन्य परम्परागत/कठोर/निरंकुश शासन प्रणाली अपनाएका राष्ट्रमा यस्तो स्वीकार्यता कसरी अपेक्षा गर्ने ? सीमान्तीकृतहरू पनि निर्वाचन लडेर जितेर नेतृत्वमा पुग्ने क्षमता राख्छन्, त्यसका लागि माहौल सकारात्मक बन्दै गइरहेको छ भन्ने विश्वास गर्ने विश्वको एउटा ठूलो तप्का र सचेत वर्गका लागि यो ठूलो र निराशाजनक चुनौती हो ।