ट्रम्पले दोस्रो कार्यकालमा दक्षिण एसियाप्रति खासै चासो देखाउने छैनन् : सुहासिनी हैदर

द एभरेष्ट पोष्ट
२९ कार्तिक २०८१ ७:४१
ट्रम्पले दोस्रो कार्यकालमा दक्षिण एसियाप्रति खासै चासो देखाउने छैनन्   : सुहासिनी हैदर

काठमाडौँ — भारतीय पत्रकार सुहासिनी हैदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा दक्षिण एसियाली मुलुकप्रति खासै चासो नदेखाउने बताएकी छिन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ-२०२४ अन्तर्गत दोस्रो दिनको दोस्रो सत्र ‘भूराजनीतिक खलबल’ मा द हिन्दुकी परराष्ट्र मामिला सम्पादकसमेत रहेकी हैदरले भारतबाहेक दक्षिण एसियाका अरु देशप्रति ट्रम्पले चासो नदेखाउने बताएकी हुन् ।

ट्रम्पको क्याबिनेट चयनले आगामी दिनमा कस्तो हुन्छ भन्ने देखाउने पनि हैदर बताउँछिन् । ‘ट्रम्पको दोस्रो कार्यकालले भारत मात्र होइन दक्षिण एसियामै प्रभाव पार्नेछ । भारतसँगको व्यापारमा सुधार आउने देखिन्छ । ट्रम्पले भारतसँगको व्यापार बढाउनका लागि छुटहरूको घोषणा गर्न सक्नेछन्,’ उनले भनिन् ।

बंगलादेशप्रति भने ट्रम्पको दृष्टिकोण नकारात्मक हुने हैदरको भनाइ छ । ‘उनले बंगलादेशको यसअघि नै आलोचनासमेत गरिसकेका छन् । अहिलेको सरकारका प्रमुख सल्लाहकार प्रजातन्त्र पक्षधर पनि हुन्,’ उनले भनिन् । ट्रम्पले प्रजातन्त्र र मानव अधिकारसम्बन्धी विषयमा पनि खासै चासो नदेखाउने हैदरको भनाइ छ । ‘ट्रम्पले मानव अधिकार, अल्पसंख्यकको अधिकार र प्रेस स्वतन्त्रताप्रति पनि उनले खासै चासो देखाउने छैनन् । बाइडेनले लोकतान्त्रिक विमर्शहरूमा सहभागिता जनाएका थिए,’ उनले भनिन् ।अफगानिस्तानमा सेना नभएकाले पनि ट्रम्पले पहिलो कार्यकालमा जति पनि दक्षिण एसियामा खासै रुचि नदेखाउने उनले बताइन् । पहिलो कार्यकालमा झैं यसपल्ट पनि ट्रम्पको राजनीतिक शैली हेर्न भने रुचिकर हुने उनको भनाइ छ । ‘ट्रम्पको यस कार्यकालमा पनि उनले बोल्ने शैली, उनका ट्विट, व्यक्तिगत रूपमा वार्ता गरेर अर्को दिन सार्वजनिक गर्ने उनको शैली रुचिकर हुन सक्छ,’ उनले भनिन् ।

भारतीय एजेन्टहरूको सक्रियतामा अमेरिकामा हत्या भएको भन्ने कुरा पनि ट्रम्पको कार्यकालमा शान्त हुने नयाँदिल्लीले अपेक्षा गरेको हैदरले जनाएकी छिन् । अमेरिकी सरकारले भारतीय मूलका अमेरिकी नागरिक गुरपतवन्त सिंह पन्नुनको हत्यामा भारतका पूर्व गुप्तचर अधिकारी विकास यादवको हात रहेको आरोप लगाएको थियो ।

त्यस्तै ट्रम्पको कार्यकालमा रुस-युक्रेन युद्ध र पश्चिम एसियामा जारी द्वन्द्व मत्थर हुने आशा गरिएको हैदरले बताइन् । ‘रुस-युक्रेन युद्धको असर नेपाल र भारतमा समेत देखिएको छ । नेपाली र भारतीय युवाहरू युद्धमा सहभागी नै भएका छन् । त्यति मात्र होइन, यस युद्धले विश्व व्यावार, खाद्यसुरक्षालगायतका क्षेत्रमा समेत संकट उत्पन्न गराएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस