एजेन्सी– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।
नाम उल्लेख नगरिकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘आफ्नो उपराष्ट्रपति पदको उम्मेदवारको रूपमा चयन गरेका रूवियोलाई ट्रम्पले विदेशमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । यो निर्णय अन्तिम होइन ।’
रुबियोले गत साता सीएनएनसँग भनेका थिए, ‘म जहिले पनि यो देशको सेवा गर्न इच्छुक छु।’
क्युबाको विरासत बोकेका कट्टर पन्थी सांसदको मनोनयनले ट्रम्पसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन ल्याउनेछ । सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिने क्रममा रुबियोले ट्रम्पलाई ‘ठग कलाकार’ र ’अहिलेसम्मकै सबैभन्दा अश्लील व्यक्ति’ भनेका थिए ।
मियामीमा क्युबाली आप्रवासीको कोखबाट जन्मिएका उनले सन् १९९३ मा फ्लोरिडा विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका थिए ।
सन् २०१० मा बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भएपछि रिपब्लिकनहरूको अति दक्षिणपन्थी दल टी पार्टीले उनको चुनावी अभियानलाई बढावा दिँदै उनी अमेरिकी सिनेटमा निर्वाचित भएका थिए ।