निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनगढीमा प्रारम्भ
कैलाली ।
आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनगढीमा प्रारम्भ भएको छ ।
गोष्ठीको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख उपस्थितिमा गरिएको हो।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की समेत सहभागी छन्।
त्यस्तै, प्रदेशअन्तर्गत नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू र उच्च अधिकारीहरू गोष्ठीमा उपस्थित छन्। गोष्ठीमा निर्वाचनका क्रममा आवश्यक पर्ने सुरक्षा रणनीति, प्रदेशको समग्र सुरक्षा अवस्था, अपराध नियन्त्रण, तथा सीमा सुरक्षासम्बन्धी तयारीबारे विस्तृत छलफल हुने बताइएको छ।
गृहमन्त्री अर्यालले प्रदेशको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले सुरक्षा निकायसँग गहन संवाद गरिरहेको बताएका छन्।
