भेनेजुएलाकी भूमिगत नेत्रीलाई नोबेल शान्ति पुरस्कार
नर्वेली पुरस्कार समितिले मचाडोलाई “आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा” भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ।
उनी भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय छिन्। गत वर्ष उनलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न रोकिएको थियो। उनी अहिले भूमिगत छिन्।
मचाडो ५८ वर्षकी भइन्। उनी गत वर्ष अगस्टदेखि हतपत सार्वजनिक स्थानमा उपस्थित भएकी छैनन्। गत ज्यानुअरीमा आयोजित एउटा विरोधप्रदर्शनमा उनी देखा परेकी थिइन्। उनलाई पक्राउ गरेर केही समयपछि छोडिएको थियो।
विजेताको नाम घोषणा गर्नुभन्दा केही मिनेटअघि पुरस्कार समितिले मचाडोलाई जानकारी दिन फोन गर्दाको भिडिओ नोबेल समितिले सार्वजनिक गरेको छ।
प्रतिक्रियामा मचाडोले पाँच पटक “ओ माइ गड” [हे ईश्वर] भनिन्। “मसँग कुनै शब्द छैन,” त्यसपछि उनले भनिन्। “यो पूरै समाजको उपलब्धि हो,” नोबेल समितिलाई धन्यवाद दिँदै भावुक स्वरमा उनले भनिन्।
“म केवल एक व्यक्ति हुँ। म यसका लागि योग्य छैन।”
यसअघि मचाडोले नोबेल शान्ति पुरस्कार पाएको थाहा पाउँदा आफू “छक्क परेको” प्रतिक्रिया व्यक्त गरेको अर्को भिडिओ पनि सार्वजनिक भएको थियो। उनका सहयोगीहरूले समाचारसंस्था एएफपीलाई पठाएको उक्त भिडिओमा मचाडोले निर्वासनमा रहेका अर्का विपक्षी नेता एड्मुन्डो गन्जालिजलाई “म त छक्क परेँ!” भनेको सुनिन्छ।
गत वर्ष मचाडोलाई उम्मेदवार बन्न नदिइएपछि गन्जालिज राष्ट्रपतीय निर्वाचनमा निकोलस मदुरोविरुद्ध उठेका थिए।
“हामी खुसीले स्तब्ध छौँ,” गन्जालिजले भन्छन्। “यो के हो? मैले त पत्याउनै सकेकी छैन,” मचाडो भन्छिन्।
उक्त भिडिओ गन्जालिजको ‘एक्स’मा पोस्ट गरिएको छ।
भेनेजुएलामा निरङ्कुश शासनव्यवस्था छ। भेनेजुएलामा निकोलस मदुरो तेस्रो पटक राष्ट्रपति बनेपछि उनीविरुद्ध र देशमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न भन्दै सुरु भएको आन्दोलनमा मचाडो अग्रमोर्चामा देखिएकी थिइन्।
मचाडोलाई बधाई दिँदै गन्जालिजले लेखेका छन्, “भेनेजुएलाको पहिलो नोबेल! भेनेजुएला स्वतन्त्र हुन्छ!”
गत वर्ष जापानी संस्था ‘निहन हिडन्क्यो‘लाई “विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणुअस्त्र पुन: कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले” पुरस्कृत गरिएको थियो।
निहन हिडन्क्यो दोस्रो विश्वयुद्धका क्रममा जापानका दुई सहर हिरोशिमा र नागासाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो।
ह्वाइट हाउसले के भन्यो
तस्बिर स्रोत,Liam Weir/BBC News
यो वर्ष शान्ति पुरस्कारका लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नाम निकै चर्चामा थियो। उनी लामो समयदेखि उक्त पुरस्कारका आकाङ्क्षी भएको बताइन्छ। केही महिनाअघि उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी पनि गरेका थिए।
उनको कार्यकाल सुरु भएको ज्यानुअरी महिनामै शान्ति पुरस्कारका लागि मनोनयन गर्नुपर्ने समयसीमा टुङ्गिएको थियो।
विजेताको नाम घोषणा भएपछि ह्वाइट हाउसले नोबेल समितिले “शान्तिको सट्टा राजनीति” रोजेको प्रतिक्रिया दिएको छ।
सामाजिक सञ्जाल ‘एक्स’मा ह्वाइट हाउसका स्टीभन चङले अमेरिकी राष्ट्रपति ट्रम्पले “शान्ति सम्झौता गराइरहने, युद्धहरू अन्त्य गराइरहने र मानिसहरूको जीवन जोगाइरहने” टिप्पणी गरेका छन्।
ट्रम्पबारे नोबेल समितिलाई प्रश्न
पुरस्कार घोषणा भएपछि आयोजित पत्रकार सम्मेलनमा नोबेल शान्ति समितिका अध्यक्षलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफैँले र अन्य अन्तर्राष्ट्रिय पक्षले ट्रम्पलाई पुरस्कृत गर्न दबाव दिए नदिएकोबारे प्रश्न गरिएको थियो।
उत्तर दिँदै योर्गन भ्याट्न फ्रुएड्नसले नोबेल शान्ति पुरस्कारको लामो इतिहासमा समितिले अनेकौँ अभियान र ‘मिडिया टेन्शन’ खेप्दै आएको बताए। “हामी केवल काम र अल्फ्रेड नोबेलको इच्छालाई आफ्नो निर्णयको आधार बनाउँछौँ,” उनले भने।
उनका अनुसार मचाडोको हकमा अल्फ्रेड नोबेलले पुरस्कारका लागि तोकेका “सबै मापदण्ड” पुगेको छ।
“उनले देशको प्रतिपक्षलाई एकजुट बनाएकी छन्, प्रजातन्त्रतर्फको शान्तिपूर्ण यात्राका लागि आफ्नो सहयोगमा उनी कटिबद्ध छिन्।”
उनका अनुसार मचाडोले “प्रजातन्त्रका साधनहरू नै शान्तिका साधन हुन्” भन्ने देखाएकी छन्।
अहिलेसम्म सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउने व्यक्ति पाकिस्तानकी मलाला युसुफ्जाई हुन्। पुरस्कृत हुँदा उनी १७ वर्षकी थिइन्
सन् १९९५ मा शान्ति पुरस्कार पाउँदा जोसफ रट्ब्ल्याट ८६ वर्षका थिए।
अन्तर्राष्ट्रिय राजनीतिमा परमाणुअस्त्रको भूमिका घटाउने र त्यस्ता अस्त्र निर्मूल गर्ने प्रयासका लागि उनलाई उक्त सम्मान दिइएको थियो। उनी परमाणुअस्त्रको विरोधमा प्रखर रूपमा उभिएका वैज्ञानिक थिए।
यसअघि कसले पाएका थिए
तस्बिर स्रोत,Getty Images
- सन् २०२४ः जापानी संस्था ‘निहान हिडन्क्यो’ “विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न गरेकोमा”
- सन् २०२३ः इरानकी नर्गिस मोहम्मदीलाई महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि
- २०२२: बेलारुसी मानवाधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानवाधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजलाई संयुक्त रूपमा
- २०२१ः पत्रकारद्वय मरिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएकाले
- २०२०ः संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई भोकमरी नियन्त्रण गर्न तथा शान्ति स्थापना गर्न सघाएकोमा
- २०१९ः ईथियोपियाका प्रधानमन्त्री एबी अहमद अलीलाई शान्ति र अन्तर्राष्ट्रिय सहकार्य स्थापना गर्न तथा छिमेकी एरिट्रियासँगको सीमा विवाद समाधान गर्न अग्रसरता लिएको हुनाले
- २०१८ः डेनिस मूक्वेगे र नादिया मुरादलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसालाई अस्त्रका रूपमा प्रयोग गर्ने क्रम अन्त्य गराउने प्रयासका लागि
- २०१७ः इन्टर्न्याश्नल क्याम्पेन टू अबोलिश न्यूक्लिअर वेपन्स (आईक्यान) लाई परमाणुअस्त्रको प्रयोगको प्रयोग हुँदा निम्तिन सक्ने विनाशकारी परिणामबारे चेतना फैलाउने काम गरेको तथा त्यस्ता अस्त्रलाई सन्धिमार्फत प्रतिबन्ध लगाउने प्रयास गरेको हुनाले
- २०१६ः कोलम्बियाका राष्ट्रिपति हुआँ मानुएल सान्टोसलाई ५० वर्षे गृहयुद्ध अन्त्य गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले
- २०१५ः न्याश्नल डाइलग क्वार्टेटलाई ट्यूनिशियामा २०११ मा भएको क्रान्तिपछि बहुलवादी प्रजातन्त्र स्थापना गराउन महत्त्वपूर्ण योगदान पुर्याएकाले
- २०१४ः भारतका कैलाश सत्यार्थी र पाकिस्तानी किशोरी मलाला युसुफ्जाईलाई बालबालिकाको दमनविरुद्ध तथा शिक्षा पाउने अधिकारका लागि सङ्घर्ष गरेकाले
अमेरिकाका तात्कालिक राष्ट्रपति बाराक ओबामाले पनि सन् २००९ मा नोबल शान्ति पुरस्कार पाएका थिए। “अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले” उनलाई नोबेल पुरस्कार दिइएको थियो।
तर उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनुभन्दा केही दिनअघि मात्र ओबामा राष्ट्रपति बनेका थिए।
अन्य उल्लेख्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्।
युसुफ्जाई अहिलेसम्म नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी व्यक्ति हुन्।
सन् २०२५ मा अरू विधामा नोबेल पुरस्कार
- चिकित्साशास्त्र : प्रतिरोध प्रणालीसम्बन्धी खोज तथा अनुसन्धानका लागि मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र शिमोन साकागुची
- भौतिकशास्त्र : क्वान्टम मेकानिक्ससँग सम्बन्धित खोजका लागि जोन क्लार्क, मिशेल एच डेभोर र जोन एम मार्टिनिस
- रसायनशास्त्र : ‘मेटल-अर्ग्यानिक फ्रेमवर्क’ (एमओएफ) विकास गरेको हुनाले सुसुमु कितागावा, रिचर्ड रब्सन र ओमर यागी
- साहित्यः हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई “प्रभावशाली र दूरदर्शी रचनाहरू जसले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्छन् तिनका लागि”
- अर्थशास्त्र : सोमबार घोषणा हुने छ
कसले गर्छ निर्णय
भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टक्होममा प्रदान गरिन्छ।
नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।
प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोनर पाउँछन्।
यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।
नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।
वीवीसीबाट ।
