विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
काठमाडौं । विराटनगनर किंग्सविरुद्ध ७७ रनको विशाल जित निकाल्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । पराजित विराटनगरका लागि पनि फाइनल पुग्ने अर्को मौका छ । टोलीले काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो । विराटनगरका लागि फाफ डु प्लेसिसले ३६, मर्सान्ट डी लाङ्गले १५ र बसिर अहमदले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि स्कट कुगेलाइन, हरमित सिंह र अभिनाश बोहोराले दुई दुई तथा हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले ५२ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी, आरिफ शेख र सेल्डन ज्याकसनले २० २०, हरमित सिंहले १४, ईशान पाण्डेले १३ तथा मुख्तर अहमदले १० रन बनाए । विराटनगरका लागि प्रतिस जिसी र मर्सान्ट डी लाङ्गले दुई–दुई तथा साम हेज्लेट र सूर्य तामाङले एक–एक विकेट लिए ।
