कांग्रेस १५औँ महाधिवेशन २६-२८ पुसमा
काठमाडौं १६ मंसिर । आसन्न २१ फागुनको आमनिर्वाचन नजिकिँदै गर्दा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेस अन्तत: आन्तरिक चुनाव प्रक्रियामा प्रवेश गरेको छ । मितिलगायतको कार्यतालिका केन्द्रीय कार्यसमितिबाट पारित गर्दै कांग्रेसले पुस २६–२८ मा १५औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । महाधिवेशन मिति टुंगिएसँगै पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा र ध्रुवीकरणको दौड तीव्र हुने भएको छ ।
केन्द्रीय समिति बैठक सुरु भएको एक महिना १८ दिनपछि सोमबार कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउनेदेखि वडा र जिल्ला अधिवेशन दु्रततर रूपमा टुंग्याएर केन्द्रीय महाधिवेशनमा जाने निर्णय लिएको छ । बैठकले सर्वसम्मत रूपमा १५औँ नियमित महाधिवेशन गर्ने निर्णय लिएसँगै कांग्रेसभित्र भावी नेतृत्वका लागि व्यापक ध्रुवीकरण र भिडन्त निश्चित भएको छ । महाधिवेशन चुनावअघि कि पछि भन्ने विवादले २८ असोजदेखि सुरु बैठक अनिर्णीत थियो ।
सभापति शेरबहादुर देउवाको प्रयासमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग शनिबार सहमति भएअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबारको बैठकमा पुसभित्रै महाधिवेशन गर्ने तालिका पेस गरेका थिए । खड्काले सुरुमा केहीबेर भूमिका बाँधेर महाधिवेशनसम्बन्धी तालिका निर्णयार्थ पेस गरेका थिए ।
त्यसपछि सर्वसम्मतिले उनको प्रस्ताव पारित भएको एक केन्द्रीय सदस्यले बताए । ‘बैठकमा कार्यवाहक सभापतिले प्रस्ताव पेस गर्नुभयो र ताली बजाएर पारित गर्न अनुरोध गर्नुभयो । त्यसपछि जय नेपाल भनेर बैठक सकियो,’ एक केन्द्रीय सदस्यले भने, ‘यति लामो विवादपछिको बैठक २५ मिनेटजतिमा सकियो । कार्यवाहकले बोलेपछि बैठक सकियो ।’
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सहमतिका आधारमा बैठकले २६ देखि २८ पुससम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको बताए । ‘कार्यवाहक सभापतिले पेस गरेको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । अब सबै साथीहरूको भावनाअनुसार पुसभित्र महाधिवेशन हुन्छ,’ प्रवक्ता महतले भने ।
