प्रचण्ड–माधवसँग भीम रावलको सात बुँदे सहमति

द एभरेष्ट पोष्ट
२७ कार्तिक २०८२ १४:०८
प्रचण्ड–माधवसँग भीम रावलको सात बुँदे सहमति

काठ्माण्डौ- नेपाली कम्युनिस्ट पार्टी र भीम रावलको ‘मातृभूमि जागरण अभियान, नेपाल’बीच एकताका लागि सात बुँदे सहमति भएको छ ।

नेपाली कम्युनस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, संह–संयोजक माधवकुमार नेपाल र जागरण अभियानको तर्फबाट भीम रावलले औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबवाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने, समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीमा रावलको वरीयता र जिम्मेवारी आन्तरिक सहमतिमा टुंगो लगाइने भएको छ ।

सात बुँदे सहमति : 

(१) नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवाववाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।

(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने ।

(३) आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने। महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।

४) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।

(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने ।

(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।

(७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस