एमाले अध्यक्ष ओलीको चुनौती- ‘चुनाव गरेर देखाऊ न त’

द एभरेष्ट पोष्ट
२६ कार्तिक २०८२ ६:४२
एमाले अध्यक्ष ओलीको चुनौती- ‘चुनाव गरेर देखाऊ न त’

काठमाडौं २५ कार्तिक । जेन–जी आन्दोलनमा अपदस्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ‘अरू कसैले बनाइदिएको’ इंगित गर्दै आफ्नो पार्टीले २१ फागुनमा चुनाव गर्न नदिने चुनौती दिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’लाई सम्बोधन गर्दै ओलीले सरकार चुनाव गराउन नबनेको दाबी गर्दै यसको संवैधानिक हैसियतमाथि प्रश्न उठाए ।

‘जति उफ्रिए पनि सरकारको समय फागुन २१ मा सकिन्छ । तर, घामजून रहेसम्म रहिरहने फुर्ती छ । ताउरमाउर गरेको छ, चुनाव गरेर देखाऊ न त । यो सरकार चुनाव गराउन बनेको होइन । यस्तो हामीले विभिन्न देशमा देखेका छौँ । हरेकलाई ६ महिनामा चुनाव गराउन भनिएको हुन्छ । तर, ५–६ वर्षसम्म पनि चुनाव नभएको देखेका छौँ,’ ओलीले भने ।

ओलीले सरकारका गतिविधि चुनाव गर्नेतर्फ नभएको दाबी गरे । ‘चुनाव गराउँछु भन्ने सरकार (प्रधानमन्त्री) राजनीतिक पार्टीको नेताको त अनुहार हेर्न मन छैन भन्छ । भेट्न मन छैन, कुरा गर्न मन छैन भन्छ । सहयोगी भन्छन्– राजनीतिक दललाई चुनावमा भाग लिन दिने होइन, नेतालाई त घरबाटै बाहिर निस्कन दिने होइन । अर्कोथरी भन्छन्– फेरि पार्टीले नै जित्ने भए किन चुनाव गराउने ? यस्तोमा के चुनाव हुन्छ ?’ ओलीले प्रश्न उठाए ।

ओलीले सरकारलाई मान्यता नदिने र एमाले चुनावमा नभई संसद् पुनर्स्थापनातिर लाग्ने बताए । ‘असंवैधानिक सरकारलाई मान्यता दिने होइन, प्रतिनिधिसभा पुनर्स्थापना गरेर राष्ट्रलाई ट्र्याकमा फर्काउने हो,’ ओलीले भने, ‘देशभरका सम्पूर्ण पार्टी कमिटीहरू, सदस्यहरू अलमल र दुविधामा नपरी संसद् पुनर्स्थापनामा फोकस हुनुस् । यो पार्टी नीति र निर्णय हो ।’

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा २३–२४ को घटनाको जवाफदेही र जिम्मेवारी लिनेतिर नभई ओलीले सम्भावित परिस्थितिबारे नसोचिएको बताए । ‘त्यस प्रकारको परिस्थिति होला भन्ने सोचिएको थिएन,’ उनले भने । ओलीले एमालेले टोलटोलमा सुरक्षा दस्ता बनाउने घोषणा गरे । उनले ट्रेड युनियनको अधिकार कसैले खोस्न नसक्ने पनि बताए ।

सरकारले राजदूत फिर्ता बोलाएकोमा पनि ओलीले आपत्ति जनाए । देशको प्रतिनिधित्व गरेर गएका राजदूतलाई परराष्ट्रमा हाजिर गराउने भन्दै उनले आपत्ति जनाए । ‘सरकारका प्रतिनिधिलाई धेरै जिब्रो नचलाउन आग्रह गर्छु,’ ओलीले भने, ‘सरकारले अलिकति सम्हालिएर बोल्ने र व्यवहार गर्ने गर्नुपर्छ ।’

यसैबिच उनले ओलीले विगतमा पार्टी छाडेकालाई एमालेमा फर्किन आग्रह गरे । सोमबार साबिक एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीसहित १० जना केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन् । किसन श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिमल्सिना, राजाराम स्याङ्तान, बबी चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई र अम्बिका राई एमाले प्रवेश गरेका हुन् । झाँक्रीले विनासर्त एमाले फर्किएको बताइन् ।

ओलीले आगामी २७ मंसिरमा एमालेको शक्ति हेर्न चुनौती दिए । ‘२७, २८ र २९ मंसिरमा हाम्रो महाधिवेशन हुँदैै छ, त्यो भव्य हुनेछ । काठमाडौंले नदेखेको र्‍याली, सभा मंसिर २७ मा देखिनेछ,’ उनले भने, ‘एमाले के हो भन्ने हेर्न मंसिर २७ गते हेर्न आउनु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस