सुदूरपश्चिम महोत्सव मङ्सिर २२ गते देखि हुने
खेमराज उपाध्याय/ धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, संस्कृति र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित मङ्सिर २२ गतेदेखि धनगढीमा ‘सुदूरपश्चिम महोत्सव–२०८२’ हुने भएको छ। महोत्सव १९ ओ संस्करणका रूपमा कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढी १ पशुपति टोलमा पुस २ गते सम्म चल्ने छ ।
सङ्घका अध्यक्ष पुष्करराज ओझाका अनुसार प्रदेशका कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रका सम्भावना प्रदर्शन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो। उनले महोत्सवले सुदूरपश्चिमको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, र प्रविधि लगायतका लागि करिब ५ सय स्टल रहने आयोजकले जनाएको छ । तीमध्ये कृषिमा ४०, महिला उद्यमी, एकल महिला, स्थानीय परिकार लाई १५ गरी ५५ वटा स्टल निःशुल्क दिइने अध्यक्ष ओझाले जानकारी दिए । उनका अनुसार स्थानीय उत्पादन, महिला उद्यम र घरेलु उद्योगका उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ।
सङ्घका अनुसार महोत्सवमा स्थानीय वस्तु, हस्तकला, कृषि उत्पादन, जडीबुटी, तरकारी, औद्योगिक सामग्री, घरेलु उपकरण, सौर्य ऊर्जा, विद्युतीय सवारी साधन, परम्परागत तथा आधुनिक सामग्रीको प्रदर्शन गरिनेछ। यसै गरी, थारू, राना थारू लगायत स्थानीय समुदायका सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारका प्रस्तुति, बालबालिकाका मनोरञ्जनात्मक खेलकुद समेत महोत्सवको आकर्षण हुनेछन्। महोत्सव अवधिभर करिब ७ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवको व्यवस्थापनका लागि आयोजक सहित २३ उप समिति गठन गरिएको छ। सङ्घका अध्यक्ष ओझाका अनुसार महोत्सव स्थलमा सुरक्षाको दृष्टिले सम्पूर्ण तयारी पूरा गरिएको सङ्घले जनाएको छ। महोत्सवमा विद्यार्थी र खेलाडीलाई ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई निःशुल्क र सर्वसाधारणलाई प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ।
कैलाली उद्योग वाणिज्य सङ्घले हरेक वर्ष आयोजना गर्ने सुदूरपश्चिम महोत्सव यस वर्ष अझ प्रभावकारी र सहभागीमूलक बनाउन व्यापक तयारी गरेको जनाएको छ। अध्यक्ष ओझाले महोत्सवले प्रदेशको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने र प्रदेशको समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार तीन करोड लगानीमा आयोजना हुने महोत्सवमा १५ करोड वरावरको कारोबार हुने अनुमान गरिएको छ ।
