मेक्सिकोको सुपरमार्केट विस्फोटमा २३ जनाको निधन

द एभरेष्ट पोष्ट
१७ कार्तिक २०८२ १३:१०
मेक्सिकोको सुपरमार्केट विस्फोटमा २३ जनाको निधन

मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार विस्फोटका कारण सम्भवतः त्रुटिपूर्ण विद्युतीय ट्रान्सफर्मर रहेको प्राथमिक अनुसन्धानले देखाएको छ ।

सोनोरा राज्यका गभर्नर अल्फोन्सो दुराजोले भिडियो सन्देशमार्फत भने, ‘दुःखको कुरा, धेरै पीडितहरू नाबालिग रहेका छन्, घाइतेहरूलाई हर्मोसिलो शहरका अस्पतालमा उपचारका लागि लगिएको छ ।’

गभर्नर दुराजोले घटनाको वास्तविक कारण पत्ता लगाउन तथा जिम्मेवार व्यक्तिहरूको पहिचानका लागि विस्तृत र पारदर्शी अनुसन्धानको आदेश दिएका छन् । अभियोजक कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘घटना आकस्मिक भएको प्रारम्भिक धारणा छ र अनुसन्धान पसलभित्र रहेको ट्रान्सफर्मरमाथि केन्द्रित गरिएको छ ।’

विस्फोट शहरको केन्द्रमा रहेको ‘वाल्डो’ सुपरमार्केटमा दिउँसो करिब २ बजेतिर (२००० जिएमटी) भएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विस्फोटपछि पसलभित्र रहेका केही ग्राहकहरू भाग्न नपाई आगोको लप्कामा फसेका थिए । सार्वजनिक भएका तस्बिरहरूमा भवनको अगाडिको भाग कालो देखिएको र झ्यालहरू फुटेका थिए ।

गभर्नर दुराजोले भने, ‘कसैले पनि यो पीडाको सामना एक्लै गर्नुपर्ने छैन । पहिलो क्षणदेखि नै आपतकालीन, सुरक्षा र स्वास्थ्य निकायहरूले उच्च व्यावसायिकता र प्रतिबद्धताका साथ कार्य गरे, परिस्थितिलाई नियन्त्रणमा लिए र धेरै जीवनहरू बचाए ।’

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्समार्फत मृतकका परिवारजन र प्रियजनप्रति हार्दिक समवेदना प्रकट गरे । उनले भने, ‘म सोनोराका गभर्नरसँग सम्पर्कमा छु र गृह सचिव रोजा इसेला रोड्रिगेजलाई प्रभावित परिवार र घाइतेहरूलाई सहयोगका लागि सहायता टोली पठाउन निर्देशन दिएकी छु ।’

स्थानीय अधिकारीहरूले नागरिकहरूलाई विस्फोट क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । सो अवसरमा आयोजना हुन लागेको मृतकको दिन (डे अफ द डेड) सम्बन्धी उत्सव पनि स्थगित गरिएको छ ।

अखबार एल युनिभर्सलका अनुसार नजिकका व्यवसायहरूले आगो फैलिन नदिन आफ्ना ढोका बन्द गरेका थिए । अनुसन्धानकर्ताहरूले भवनमा प्रवेश अनुमति पाएपछि घटनाको ठ्याक्कै कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस